मंगलबार, १८ वैशाख २०८१

भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

समयपोष्ट २०७७ जेठ १३ गते ७:३३

Advertisement

नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ । तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि भेरी नदीमा बगेको छ ।

गाउँलेले ढुंगामुढा गरेर लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको छ, तीन अझै बेपत्ता छन् । रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीमा कथित माथिल्लो जातकी युवतीसँग प्रेमबिहे गर्न जाजरकोटबाट आएका दलित युवा र उनका साथीहरूको समूहलाई स्थानीयले अन्धाधुन्द आक्रमण गरेका थिए । नदीमा हामफाले पनि गाउँलेले ढुंगा प्रहार गरेपछि साथीहरू डुबेको उनका साथीहरूले बताएका छन् ।

जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँनिवासी २१ वर्षीय नवराज विक प्रेमिकासँग बिहे गर्न १९ जना साथीसहित शनिबार अपराह्न करिब ५ बजे रुकुमको चौरजहारी पुगेका थिए । तर, स्थानीयले संगठित आक्रमण गरेपछि भाग्दाभाग्दै उनीहरू नदीमा हामफालेका ६ जना बेपत्ता भएका थिए ।

सोमबार साँझसम्म नवराज तथा उनका साथीहरू गणेश बुढामगर र टीकाराम नेपालीको शव भेटिएको रुकुमका डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् । नवराजका साथीहरूमध्ये गणेश जाजरकोटका हुन् भने टीकाराम रुकुम चौरजहारीकै हुन् ।

Advertisement

त्यस्तै, भेरी नगरपालिकाका–४ का १८ वर्षे सञ्जु विक, १७ वर्षे गोविन्द शाही र १८ वर्षे लोकेन्द्र सुनार अझै बेपत्ता छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको र बेपत्ताको खोजीकार्य भइरहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । आजको नयाँ पत्रिकामा यो समाचार प्रकाशित छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री