मंगलबार, १८ वैशाख २०८१

उम्मेदवार सुरक्षालाई मजबुत बनाउन फायरिङ गर्न छुट

समयपोष्ट २०७४ कार्तिक २६ गते २:२३

चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ ।

Advertisement

शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ । गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई सापकोटाले निर्देशनसमेत दिएका छन् ।

माओवादी केन्द्रको गढ मानिएका जिल्लामा केन्द्रकै उम्मेदवारमाथि आक्रमण प्रयास भइरहेका छन् । शनिबार रोल्पामा वर्षमान पुनलगायत वाम गठबन्धनका उम्मेदवार सवार गाडीलाई लक्ष्य गरेर माइन विस्फोट गराइएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव'का कार्यकर्ताले उक्त विस्फोट गराएको सूचना प्रहरीले पाएको छ । शुक्रबार रुकुममा माओवादी केन्द्रकै उम्मेदवार एवं पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्ष्य गरेर बम विस्फोट गराइएको थियो ।

वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै नभएर चुनाव नजिकिँदै जाँदा कांग्रेसलगायत मधेसी गठबन्धनका उम्मेदवारमाथि आक्रमण प्रयास हुन सक्ने भन्दै सचिव सापकोटाले सुरक्षा निकाय ‘हाईअलर्ट' हुनुपर्ने निर्देशन दिए । विप्लव र उनका कार्यकर्तालाई सामान्य रूपमा नलिन सापकोटाले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए ।

स्रोतका अनुसार सापकोटा बैठकमा चुनाव भाँड्ने समूहले हतियार विस्फोट गराउन थालेपछि प्रहरीले परिस्थितिअनुसार जफावी फायरिङ गर्न सक्ने छुट प्रहरीलाई भएको स्पष्ट पारेका थिए ।

सुवास गोतामे / अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री