२५ मेगावाटको सेती खोला जलविद्युत् आयोजना निमार्ण सम्झौता, लागत ५ अर्ब, २ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य
एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता भएको छ ।
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभीबीच आइतबार काठमाडौंमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो। भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्ताक्षर गरे। रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का रू. एक अर्ब २० करोडमा लिएको छ। निर्माण कम्पनीले दुई वर्षभित्र आयोजनाको सिभिल संरचना निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको छ। प्रवर्द्धक भिजन लुम्बिनीले २७ महिनाको समयसीमा दिएको भए पनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
करीब पाँच अर्ब रूपैंयाँ लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच २०७५ मंसिर ६ गते विद्युत खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत वर्षायाममा प्रतियुनिट चार रूपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रूपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरीमा आयोजना निर्माण हुनेछ। आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने कम्पनीले जनाएको छ। बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको छ।
प्रवर्द्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्तिले मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरूले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताका रूपमा सहभागी गराएको जानकारी दिए।
उनका अनुसार आयोजनाको ३० प्रतिशत स्वपुँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइने छ। स्वपुँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइने छ।
आयोजनाबाट उत्पादित विद्युत् कुल ६ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिने छ। अध्यक्ष पोखरेलले आयोजना तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता जनाए। उनले आयोजनामा धेरैभन्दा धेरै लगानीकर्ताको सहभागिताका कारण चासोको रहेकाले समयभन्दा अगावै सम्पन्न गरिसक्नुपर्ने अवस्थामा रहेको बताए।
यस्तै रसुवा–लुना जेभीका कार्यकारी निर्देशक आचार्यले तोकिएको समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए। आयोजनाको इञ्जिनीयरिङको काम हाइड्रो कन्सल्टले गरिरहेको छ। सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहरलाल श्रेष्ठले प्राविधिक तयारीमा कुनै कन्जुस्याइँ नगरिएको जानकारी दिँदै आयोजना आकर्षक रहेको दाबी गरे।
आयोजनाका प्रवर्द्धकसमेत रहेका स्थानीयवासी बमबहादुर गुरूङले स्थानीयवासीलाई विश्वासमा लिएर काम गराउन आफू प्रतिबद्ध रहेको र स्थानीयबाट पुरै सहयोग हुने दाबी गरे। कम्पनीका सल्लाहकार गणेशकुमार श्रेष्ठले नदी प्रवाही आयोजना भए पनि आकर्षक र ऊर्जा उत्पादनका हिसाबले पनि महत्वपूर्ण रहेको बताए ।रासस
प्रतिक्रिया