शनिबार, २२ वैशाख २०८१

४८.६१ प्रतिशतले घट्यो टेलिकमको खुद नाफा

समयपोष्ट २०७६ साउन ३० गते १३:०२

Advertisement

नेपाल टेलिकमको नाफा ४८.६१ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक बर्षको भन्दा ७ अर्ब २७ करोड रुपैयाँले नाफामा गिरावट आएको हो।

कम्पनीले गत आर्थिक वर्ष १० अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक बर्ष टेलिकमको नाफा १७ अर्ब ४८ करोड रुपैयाँ थियो।

कम्पनीको विगत तीन आर्थिक बर्षदेखि टेलिकम सेवा मार्फतको आम्दानीमा गिरावट हुँदै आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा दुरसञ्चार सेवा मार्फतको आम्दानी दुई अर्ब ७३ करोडले घटेको छ।

कम्पनीले यस्तो सेवामार्फत ३६ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ। टेलिकमले यस वर्ष चार अर्ब दुई करोड रुपैयाँ लाइसेन्स शुल्क भुक्तानी गरेको छ। यसले नाफामा भारि गिरावट ल्याएको हो।

Advertisement

कम्पनीको अन्य आम्दानी ७.२३ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ। आम्दानीमा गिरावटसँगै प्रशासनिक खर्च भने ११ प्रतिशतले बढेको छ। गत वर्षमा यस्तो खर्च एक अर्ब ५० करोड रुपैयाँ छ। यस्तो खर्चमा कर्मचारीको तलब भत्तादेखि अन्य प्रसासनिक खर्च पर्दछ।

समग्रमा कम्पनीको खर्च १४ प्रतिशतले बढेको छ। जम्मा खर्च २४ अर्ब ६५ करोडबाट २८ अर्ब २२ करोड रुपैया पुगेको छ। पछिल्लो समय टेलिकम्युनिकेसनहरुको भ्वाइस कल मार्फतको आम्दानीमा इन्टरनेटको कारणले घट्दै आएको छ।

कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपयाँ छ भने जगेडा कोषमा ८६ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ। कोषको उचित परिचालन गर्न नजान्दा कम्पनीको नाफामा सुधार आउन नसकेको हो।

अर्को प्रतिस्पर्धि एनसेल प्रालिले आम्दानी बढाइरहँदा सरकारी स्वामित्वको टेलिकम थलिन थालेको हो। टेलिकमले रणनीतिक साझेदारको कुरा गरेपनि प्रकृया अगाडि बढ्न सकेको छैन। सरकारी शेयर बढि भएकाले हस्तक्षेप पनि उत्तिकै रहेको छ।

‘टेलिकमलाई बेलैमा रणनीतिक साझेदार ल्याएर निजी क्षेत्रको प्रवेश नगराउने हो भने यो अर्को बायुसेवा निगम बन्छ’ टेलिकमकै एक पूर्वअधिकारीले भने, ‘प्रविधि सुधारका लागि राजनीतिकदेखि अख्तियारसम्मको हस्क्षेप हुन्छ। त्यसैले यसलाई निजी क्षेत्रको जिम्मा लगाउनै पर्छ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री