बुधबार, १९ वैशाख २०८१

जनयुद्धकालको विद्युत् आयोजनाले दिएको उज्यालो

rss २०७६ साउन २४ गते १५:१५

Advertisement

सर्जना कार्की
तत्कालीन माओवादीले सशस्त्र जनयुद्धका क्रममा धेरै ठाउँमा विद्यालय, सहिद गेट, चौतारा, विद्युत्गृह लगायतका भौतिक संरचना निर्माण गरिएको थियो ।

निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् । तीमध्ये रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ छिपखोला तथा साविकको प्वाङ गाविस– १ मा माओवादीले बनाएको विद्युत् आयोजना सञ्चालनमा रहेका छन् । उक्त आयोजनाले गर्दा नै यतिबेला छिपखोला बस्ती झिलीमिली देखिन्छ । उतिबेला निर्माण गरेको उक्त आयोजनाले अहिले छिपखोलाका ४० घर परिवारलाई उज्यालो दिएको छ ।

संरक्षणको अभावले जनयुद्धकालका सबै संरचना तथा चिज वस्तु लोप हुँदै गएको अवस्थामा त्यतिबेलाको विद्युत् आयोजनाले भने आजभोलि पनि गाउँ झिलीमिली हुँदा उक्त क्षेत्रका नागरिक गौरवान्वित भएका छन् । स्थानीय जमुना पुनमगरले भन्नुभयो, “तत्कालीन समयमा माओवादी विशेष गरेर कम्युन सञ्चालनका लागि निर्माण गरिएको आयोजना हो तर यस आयोजनालाई हामीले अहिलेसम्म पनि उपभोग गर्दै आएका छौँ ।” स्थानीयलगायत सरोकारवाला निकायको संरक्षणमा अहिले पनि उक्त आयोजना जस्ताको तस्तैरुपमा रहेको उहाँको भनाइ छ ।

ढुङ्गा र माटोले बनेको सानो दुई तला अनि ढुङ्गाको छानो भएको घरमा यसको पावरहाउस रहेको छ । भिरालो जमीन भएका कारण विद्युत् पावरहाउसमा जोकोही सजिलै पुग्न पनि सक्दैनन् । सदरमुकाम रुकुमकोटबाट करीब एक दिनको बाटो हिँडेर पुग्ने उक्त ठाउँ युद्ध पर्यटनको सम्भावना बोकेको क्षेत्र पनि हो । पहिले कम्युन सञ्चालन भएको उक्त ठाउँमा अहिले पनि नमूना बस्ती निर्माण गरेर मानिस मिलेर बसेका छन् ।

Advertisement

त्यस विद्युत्बाट अहिले पनि त्यहाँका ४० घरधुरी लाभान्वित छन् । छिपखोलाको विद्युत् विसं २०६२ साउनमा उत्पादन शुरु गरिएको थियो । विसं ०६१ देखि शुरु गरिएको योजना एक वर्षमा निर्माण पूरा भएको थियो । रु १२ लाख खर्चेर तत्कालीन जनसत्ताले बिजुली निकालेको स्थानीय धनबहादुर पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी ३७ घरले केही दिन श्रमदान ग¥यौँ । प्रतिघर दुई हजारका दरले पनि लगानी गरेका थियौँ । बाँकी लगानी तत्कालीन पार्टी सत्ताले गरेको होे ।” जनयुद्धकालको विद्युत् आयोजनाले अहिलेसम्म छिपखोलाको बस्तीलाई अँध्यारो हुन नदिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री