
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ मा उम्मेदवारले चुनावी प्रचार प्रसारका क्रममा बढीमा दुईवटा मात्र सवारी साधन प्रयोग गर्न पाउने कडा व्यवस्था गरिएको छ । दुईभन्दा बढी सवारी साधन प्रयोग गरे कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।
स्वीकृत आचारसंहितामा भनिएको छ, “निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुई वटा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने ।”
यसैगरी, राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले चुनावी प्रचार प्रसारमा प्रयोग गर्ने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।
आचारसंहिताले एउटा दल वा उम्मेदवारको नाममा अनुमति प्राप्त सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा प्रयोग गर्न समेत पूर्ण रूपमा निषेध गरेको छ । साथै, कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाउने उल्लेख छ ।










प्रतिक्रिया