
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार (पुस १४ गते) आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिने भएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले आयोगको बोलावटमा उपस्थित हुने निर्णय गरेको बताए।
‘भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई जानकारी लिन बोलाएको छ। मैले आयोगमा उपस्थित भएर बयान दिने निर्णय गरेको छु,’ लेखकले भने, ‘आयोगले शुक्रबारका लागि बोलाउनुभएको थियो। तर म सोमबार जाने गरी निर्णय गरेको छु।’
उनले आयोगलाई सोमबार बयानका लागि उपस्थित हुने जानकारी गराइसकेको पनि बताए।
जेनजी आन्दोलनका क्रममा प्रहरीको बल प्रयोग र भएको धनजनको क्षतिबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।
लेखक त्यसबेला गृहमन्त्री थिए जतिबेला आन्दोलन हिंसात्मक बनेको थियो।










प्रतिक्रिया