
भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको सहकार्यमा दोस्रो डब्ल्यूएचओ विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलनको आयोजना गर्ने भएको छ।
यो सम्मेलन डिसेम्बर १७ देखि १९ तारिखसम्म (पुस २ देखि ४ गते) नयाँ दिल्लीमा हुनेछ।
डब्ल्यूएचओको विश्वव्यापी परम्परागत औषधि रणनीति २०२५–२०३४ द्वारा निर्देशित यो सम्मेलनले परम्परागत औषधि प्रणालीहरूले जनकेन्द्रित स्वास्थ्य सेवा र ग्रहको कल्याणमा कसरी अर्थपूर्ण योगदान दिन सक्छन् भन्ने विषयमा केन्द्रित हुनेछ।
सम्मेलनको नारा “मानिस र ग्रहका लागि सन्तुलन पुनर्स्थापना : स्वास्थ्य र कल्याणको विज्ञान र अभ्यास” रहेको छ।
यो सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत औषधि (टीसीआईएम) लाई स्वास्थ्य प्रणालीमा प्रमाणमा आधारित रूपमा एकीकृत गर्न, वैज्ञानिक अनुसन्धानलाई बढावा दिन, जैविक विविधताको संरक्षण गर्न र आदिवासी ज्ञानको सम्मान गर्न जोड दिनेछ। हाइब्रिड मोडालिटीमा हुने यो वैश्विक सम्मेलनमा १०० भन्दा बढी देशका नीति निर्माता, वैज्ञानिक, परम्परागत चिकित्सक, आदिवासी ज्ञान धारक र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रत्यक्ष रूपमा ८ सय भन्दा बढी सहभागीहरू उपस्थित हुने र अनलाइन प्लेटफर्ममार्फत करिब ५ हजार जनाले सहभागीता जनाउने अनुमान गरिएको छ । २०२३ मा आयोजित पहिलो डब्लुएचओ परम्परागत औषधि शिखर सम्मेलनपछि गरिएका प्रगतिलाई समीक्षा गर्दै आगामी दशकका लागि विश्वव्यापी परम्परागत औषधि एजेन्डा अघि बढाउने उद्देश्य यो वर्षको प्रमुख फोकस हुनेछ ।
यस वर्षको सम्मेलनमा मे २०२५ मा ७८औं विश्व स्वास्थ्य सभाले पारित गरेको ‘विश्वव्यापी परम्परागत औषधि रणनीति २०२५–२०३४’ लाई व्यवहारिक रूपमा अगाडि बढाउने उद्देश्यसहित महत्त्वपूर्ण वैज्ञानिक, नीतिगत र प्राविधिक पहलहरू प्रस्तुत गरिनेछन् ।
डब्लुएचओका अनुसार परम्परागत औषधि विश्वका १७० भन्दा बढी देशहरूमा प्रयोग गरिन्छ । केही देशमा यसको पहुँच ७०–९०% सम्म छ । अरबौँ मानिसहरूको पहिलो तथा नजिकको स्वास्थ्य सेवा स्रोत टीएम नै भएको तथ्यले यसको महत्व झनै बढाएको छ ।
साथै, टीएम आधारित सेवा र उत्पादनप्रति विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको छ । टीएम समाहित ‘कल्याण अर्थतन्त्र’ को मूल्य २०२२ मा ५.६ ट्रिलियन अमेरिकी डलर पुगेको थियो भने २०२७ सम्म ८.५ ट्रिलियन डलर पुग्ने अनुमान छ । गैर–संक्रामक रोगको बढ्दो चुनौती, मानसिक स्वास्थ्य समस्या, स्वास्थ्य असमानता र सीमित स्वास्थ्य पहुँच भएका ४.६ अर्ब मानिसहरूको अवस्थालाई ध्यानमा राख्दा सुरक्षित, प्रभावकारी र प्रमाण–आधारित टीएम एक महत्त्वपूर्ण विकल्पका रूपमा देखिएको डब्लुएचओ बताउँछ ।
तर, टीएम क्षेत्रमा वैज्ञानिक प्रमाण उत्पादन र अनुसन्धानलाई विश्वव्यापी रूपमा अझै ठूलो चुनौती मानिन्छ । विश्व स्वास्थ्य अनुसन्धान कोषको १% भन्दा कम टीएम क्षेत्रमा विनियोजन हुने भएकाले अनुसन्धान, प्रमाण उत्पादन र नियमनमा ठूलो खाडल छ । यस खाडललाई पुल गर्न डब्लुएचओले विश्वव्यापी मापदण्ड विकास, सुरक्षा–प्रभावकारिता मूल्यांकन र प्रमाण–आधारित एकीकरणका दिशामा काम गर्दै आएको छ ।
कृत्रिम बुद्धिमत्ता (एआइ), डिजिटल प्लेटफर्म, जीनोमिक्स, मेटाबोलोमिक्स जस्ता आधुनिक प्रविधिले टीएम अनुसन्धान र प्रमाणीकरण प्रक्रियामा नयाँ आयाम थपेका छन् । टीएममा समावेश टीएमजीएल जीपीटी जस्तो टीएम अनुरूप एआई मोडेलले प्रमाण–आधारित डेटा पहुँच र विश्लेषणलाई झनै तीव्र बनाउने अपेक्षा गरिएको छ ।
शिखर सम्मेलनमा प्रविधि–अनुकूल अनुसन्धान मोडेल, नयाँ सहकार्य, कन्सोर्टियम गठन र विश्वव्यापी टीएम प्रमाण प्रणालीलाई एकीकृत गर्ने दीर्घकालीन रणनीति प्रमुख एजेन्डा बन्नेछ ।
भर्चुअल मिडिया ब्रीफिङ, विशेषज्ञ अन्तर्वार्ता, मिडिया किट र प्रत्यक्ष वेबकास्ट सुविधा उपलब्ध हुने डब्लुएचओले जनाएको छ । अनलाइन दर्ता १० डिसेम्बरसम्म खुला रहेको छ, भने भौतिक उपस्थितिका लागि भारत सरकारद्वारा मान्यता अनिवार्य रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मुख्य आकर्षण
-१.६ मिलियनभन्दा बढी वैज्ञानिक रेकर्डहरू समेटिएको डब्लुएचओ परम्परागत चिकित्सा ग्लोबल लाइब्रेरी (टीएम) को औपचारिक सार्वजनिक घोषणा
-टीएम क्षेत्रमा अनुसन्धानलाई मार्गदर्शन गर्ने ‘विश्वव्यापी अनुसन्धान प्राथमिकता रोडम्याप’ को विमोचन
-१,१०० भन्दा बढी प्रस्तावहरूमध्येबाट छनोट गरिएका २१ उत्कृष्ट ‘हेल्थ हेरीटेज इनोभेसनको घोषणा
-विभिन्न देश सरकार तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूबाट नीति, लगानी र अनुसन्धानका प्रतिबद्धता
-स्वास्थ्य सम्पदा नवप्रवर्तनमा अनुसन्धान, नियमन र लगानी क्षमता अभिवृद्धि गर्न ‘विश्वव्यापी कन्सोर्टियम’ स्थापना गर्न आग्रह रहेका छन् ।










प्रतिक्रिया