डब्लुएचओको दोस्रो विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलन भोलिदेखि भारतमा

भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको सहकार्यमा दोस्रो डब्ल्यूएचओ विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलनको आयोजना गर्ने भएको छ।

Advertisement

यो सम्मेलन डिसेम्बर १७ देखि १९ तारिखसम्म (पुस २ देखि ४ गते) नयाँ दिल्लीमा हुनेछ।

Advertisement

डब्ल्यूएचओको विश्वव्यापी परम्परागत औषधि रणनीति २०२५–२०३४ द्वारा निर्देशित यो सम्मेलनले परम्परागत औषधि प्रणालीहरूले जनकेन्द्रित स्वास्थ्य सेवा र ग्रहको कल्याणमा कसरी अर्थपूर्ण योगदान दिन सक्छन् भन्ने विषयमा केन्द्रित हुनेछ।

सम्मेलनको नारा “मानिस र ग्रहका लागि सन्तुलन पुनर्स्थापना : स्वास्थ्य र कल्याणको विज्ञान र अभ्यास” रहेको छ।

यो सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत औषधि (टीसीआईएम) लाई स्वास्थ्य प्रणालीमा प्रमाणमा आधारित रूपमा एकीकृत गर्न, वैज्ञानिक अनुसन्धानलाई बढावा दिन, जैविक विविधताको संरक्षण गर्न र आदिवासी ज्ञानको सम्मान गर्न जोड दिनेछ। हाइब्रिड मोडालिटीमा हुने यो वैश्विक सम्मेलनमा १०० भन्दा बढी देशका नीति निर्माता, वैज्ञानिक, परम्परागत चिकित्सक, आदिवासी ज्ञान धारक र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रत्यक्ष रूपमा ८ सय भन्दा बढी सहभागीहरू उपस्थित हुने र अनलाइन प्लेटफर्ममार्फत करिब ५ हजार जनाले सहभागीता जनाउने अनुमान गरिएको छ । २०२३ मा आयोजित पहिलो डब्लुएचओ परम्परागत औषधि शिखर सम्मेलनपछि गरिएका प्रगतिलाई समीक्षा गर्दै आगामी दशकका लागि विश्वव्यापी परम्परागत औषधि एजेन्डा अघि बढाउने उद्देश्य यो वर्षको प्रमुख फोकस हुनेछ ।

यस वर्षको सम्मेलनमा मे २०२५ मा ७८औं विश्व स्वास्थ्य सभाले पारित गरेको ‘विश्वव्यापी परम्परागत औषधि रणनीति २०२५–२०३४’ लाई व्यवहारिक रूपमा अगाडि बढाउने उद्देश्यसहित महत्त्वपूर्ण वैज्ञानिक, नीतिगत र प्राविधिक पहलहरू प्रस्तुत गरिनेछन् ।

डब्लुएचओका अनुसार परम्परागत औषधि विश्वका १७० भन्दा बढी देशहरूमा प्रयोग गरिन्छ । केही देशमा यसको पहुँच ७०–९०% सम्म छ । अरबौँ मानिसहरूको पहिलो तथा नजिकको स्वास्थ्य सेवा स्रोत टीएम नै भएको तथ्यले यसको महत्व झनै बढाएको छ ।

साथै, टीएम आधारित सेवा र उत्पादनप्रति विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको छ । टीएम समाहित ‘कल्याण अर्थतन्त्र’ को मूल्य २०२२ मा ५.६ ट्रिलियन अमेरिकी डलर पुगेको थियो भने २०२७ सम्म ८.५ ट्रिलियन डलर पुग्ने अनुमान छ । गैर–संक्रामक रोगको बढ्दो चुनौती, मानसिक स्वास्थ्य समस्या, स्वास्थ्य असमानता र सीमित स्वास्थ्य पहुँच भएका ४.६ अर्ब मानिसहरूको अवस्थालाई ध्यानमा राख्दा सुरक्षित, प्रभावकारी र प्रमाण–आधारित टीएम एक महत्त्वपूर्ण विकल्पका रूपमा देखिएको डब्लुएचओ बताउँछ ।

तर, टीएम क्षेत्रमा वैज्ञानिक प्रमाण उत्पादन र अनुसन्धानलाई विश्वव्यापी रूपमा अझै ठूलो चुनौती मानिन्छ । विश्व स्वास्थ्य अनुसन्धान कोषको १% भन्दा कम टीएम क्षेत्रमा विनियोजन हुने भएकाले अनुसन्धान, प्रमाण उत्पादन र नियमनमा ठूलो खाडल छ । यस खाडललाई पुल गर्न डब्लुएचओले विश्वव्यापी मापदण्ड विकास, सुरक्षा–प्रभावकारिता मूल्यांकन र प्रमाण–आधारित एकीकरणका दिशामा काम गर्दै आएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआइ), डिजिटल प्लेटफर्म, जीनोमिक्स, मेटाबोलोमिक्स जस्ता आधुनिक प्रविधिले टीएम अनुसन्धान र प्रमाणीकरण प्रक्रियामा नयाँ आयाम थपेका छन् । टीएममा समावेश टीएमजीएल जीपीटी जस्तो टीएम अनुरूप एआई मोडेलले प्रमाण–आधारित डेटा पहुँच र विश्लेषणलाई झनै तीव्र बनाउने अपेक्षा गरिएको छ ।

शिखर सम्मेलनमा प्रविधि–अनुकूल अनुसन्धान मोडेल, नयाँ सहकार्य, कन्सोर्टियम गठन र विश्वव्यापी टीएम प्रमाण प्रणालीलाई एकीकृत गर्ने दीर्घकालीन रणनीति प्रमुख एजेन्डा बन्नेछ ।

भर्चुअल मिडिया ब्रीफिङ, विशेषज्ञ अन्तर्वार्ता, मिडिया किट र प्रत्यक्ष वेबकास्ट सुविधा उपलब्ध हुने डब्लुएचओले जनाएको छ । अनलाइन दर्ता १० डिसेम्बरसम्म खुला रहेको छ, भने भौतिक उपस्थितिका लागि भारत सरकारद्वारा मान्यता अनिवार्य रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मुख्य आकर्षण

-१.६ मिलियनभन्दा बढी वैज्ञानिक रेकर्डहरू समेटिएको डब्लुएचओ परम्परागत चिकित्सा ग्लोबल लाइब्रेरी (टीएम) को औपचारिक सार्वजनिक घोषणा

-टीएम क्षेत्रमा अनुसन्धानलाई मार्गदर्शन गर्ने ‘विश्वव्यापी अनुसन्धान प्राथमिकता रोडम्याप’ को विमोचन

-१,१०० भन्दा बढी प्रस्तावहरूमध्येबाट छनोट गरिएका २१ उत्कृष्ट ‘हेल्थ हेरीटेज इनोभेसनको घोषणा

-विभिन्न देश सरकार तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूबाट नीति, लगानी र अनुसन्धानका प्रतिबद्धता

-स्वास्थ्य सम्पदा नवप्रवर्तनमा अनुसन्धान, नियमन र लगानी क्षमता अभिवृद्धि गर्न ‘विश्वव्यापी कन्सोर्टियम’ स्थापना गर्न आग्रह रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री