
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको संरचनालाई पहिलेकै अवस्थामा फर्काउने निर्णय गरेको छ।
बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो।
अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यहरूले ताली बजाएर समर्थन जनाएपछि सो प्रस्ताव पारित भएको घोषणा गरिएको छ। तर, यस निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका थिए। त्यस्तै, नेता सुरेन्द्र पाण्डेले संशोधन गर्ने नै भए २ कार्यकाल र ७० वर्षे उमेर हद पनि हटाउनुपर्ने धारणा राखेका थिए।
स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार अब बन्द सत्रबाट अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५ र पोलिटब्युरो ९९ सदस्यीयसहित कुल ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ।
यसअघि भदौ अन्तिम साता ललितपुरको गोदावारीमा भएको दोस्रो विधान महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ पदाधिकारी रहेको २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो।










प्रतिक्रिया