
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको गुन्डुमा नयाँ निवास ‘ओली कुटी’ निर्माणको औपचारिक शिलान्यास गरिएको छ ।
बिहीबार ओलीकी पत्नी राधिका शाक्यले उक्त निवासको शिलान्यास गरेकी हुन् ।
गत भदौ २४ गते बालकोटस्थित ओलीको पुरानो निवासमा आगजनी र तोडफोड भएको थियो । त्यसयता उनी भक्तपुरको गुन्डुमै बस्दै आएका छन् । जेन–जी आन्दोलनका कारण तत्कालीन सरकार ढलेपछि ओली गुन्डुमा बसाइँ सरेका थिए ।
निवास निर्माणको अगुवाइ एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले गरेका छन् । उनले गुन्डुवासीको तर्फबाट जग्गा व्यवस्थापन गरिएको र चन्दा नउठाई भक्तपुरबासीकै सहयोगमा निवास निर्माण गरिने बताए ।
“अध्यक्षज्यूको निवास चन्दा नउठाई भक्तपुरबासीको तर्फबाट बनाउँदै छौँ,” बस्नेतले भने, “एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अहिले डिजाइन र बजेटको विषयमा छलफल भइरहेको छ ।”
बालकोटको पुरानो निवासलाई ट्रस्टमा रूपान्तरण गरी राज्यलाई हस्तान्तरण गरिसकिएकाले त्यसको पुनर्निर्माण वा मर्मतको जिम्मेवारी अब राज्यकै भएको बस्नेतको भनाइ छ ।
ओली दम्पतीले गुन्डुमा निर्माण हुने यो नयाँ निवासलाई ‘ओली कुटी’ नाम दिएका छन् ।










प्रतिक्रिया