हेटौँडाको सडक विस्तारमा अवरोध गर्नेहरूलाई कारबाही गर्ने चेतावनी

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउने तथा व्यवसायीहरूलाई धम्की दिने व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

Advertisement

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारीले सडक डिभिजन कार्यालयको सडक विस्तार अभियानमा कुनै पनि प्रकारको बाधा नपुर्‍याउन सबैमा आग्रह गरेका छन् । गत मंसिर ५ गते सडक डिभिजन कार्यालयले नै सूचना जारी गरी सडक विस्तारको तयारी पूरा भएको र मंसिर २० गतेसम्म सम्बन्धित संरचना हटाउन समय दिएको थियो ।

प्रशासनका अनुसार, अधिकांश व्यवसायीहरूले तोकिएको समयसीमाभन्दा अगावै आफ्ना पसल तथा संरचना अन्यत्र सार्ने काम गरिरहेका छन् ।

Advertisement

धेरैले ‘सेल’ तथा विशेष अफर राखेर सामान बिक्री वितरण गरी विकास निर्माणमा सहयोग पुर्‍याइरहेका छन् । हेटौँडावासी र सरोकारवालाहरूको उत्साहजनक साथ रहेको प्रशासनले जनाएको छ ।

यद्यपि, केही व्यक्तिहरूले व्यवसायीहरूलाई धाक–धम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणमा अवरोध पुर्‍याउने कार्य गरिरहेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सूचनामा भनिएको छ, “सडक विस्तार कार्यमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधि गर्ने व्यक्तिहरूप्रति प्रशासन पूर्ण सचेत छ । कानुनविपरीत कार्य नगर्न–नगराउन पुनः अनुरोध गरिन्छ । यदि कसैले कानुनको बर्खिलाप गरी अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कडा कारबाही गरिनेछ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री