बुधबार, २६ वैशाख २०८१

 एसबिआइ बैंकको कर्पोरेट शाखा अव केशर महलमा, दुई नयाँ सेवा सेवाको उद्घाटन 

समयपोष्ट २०७३ पुष ८ गते ४:२०

नेपाल एसबीआई बैंकले पेमेन्ट गेटवे फेज–दुई (भारतबाट नेपाल) र मर्चेन्ट एक्वायरिङ सेवा सुरुआत गरेको छ । नेपालका लागि भारतीय राजदूत रणजित राय र स्टेट बैंक अफ इन्डिया, अन्तर्राष्ट्रिय बैंकिङ विभागका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेन गुप्ताले सो सेवाको उद्घाटन गरे ।
पेमेन्ट गेटवे फेज–दुईअन्तर्गत भारतमा रहेका नेपालीहरूले तत्काल नेपालमा पैसा पठाउन सक्नेछन् । हालसम्म नगद भारतबाट नेपालमा नगद पठाउने उपयुक्त तथा सुरक्षित माध्यम नहुँदा नेपाली कामदारहरूले सास्ती बेहोर्नुपरेको थियो । त्यसैले, नेपाल एसबीआई बैंकको यो नयाँ प्रोडक्टले उनीहरूलाई सुविधा पुग्ने बैंकको विश्वास छ ।
मर्चेन्ट एक्वायरिङ सेवाले सेवाग्राहीलाई सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न सहयोग गर्नेछ । यस्तो टर्मिनलबाट कारोबार गर्दा कार्डवाला आधिकारिक व्यक्तिले आफैं पिन कोड इन्ट्री गरेपछि मात्रै कारोबार सफल हुने बैंकको भनाइ छ । यसले गर्दा ग्राहकको कार्डको दुरूपयोग हुने र अनावश्यक रकम भुक्तानी हुने सम्भावना कम भएर जानेछ । सानो र सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने यस्ता टर्मिनलहरू सिम कार्डको सहायताले सञ्चालन गर्न सकिन्छ ।
नयाँ प्रोडक्टको शुभारम्भ गर्दै नेपालका लागि भारतीय राजदूत रायले नयाँ पेमेन्ट गेटवेले भारतमा रहेका नेपाली दाजुभाइलाई सुरक्षित रूपले घरमा पैसा पठाउन मद्दत गर्ने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केन्द्रीय बैंक लाइसेन्सिङ नीतिमा उदार भएको र बैंक तथा वित्तीय संस्थालाई नयाँ प्रोडक्टको विकास र कार्यान्वयन गर्न सधैं प्रोत्साहित र सहयोग गरेको बताए ।
 बैंकको बोर्ड अफ डाइरेक्टरका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रविधिमा आधारित बैंकिङका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न बैंकले निरन्तर प्रयास गरेको जानकारी दिए । एसबीआई मुम्बईका अन्तर्राष्ट्रिय बैंकिङ नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेन गुप्ताले डिजिटल बैंकिङमार्फत आफ्ना ग्राहकहरूलाई सजिलो र स्तरीय बैंकिङ सेवा दिन बैंकले निरन्तर प्रयत्न गरिरहेको बताए ।
sss

Advertisement

यसैबीच, बैंकले काठमाडौंको केशर महलमा कर्पोरेट शाखाको उद्घाटन गरेको छ । एसबीआई मुम्बईका सिद्धार्थ सेन गुप्ताले एक कार्यक्रमबीच सो शाखाको उद्घाटन गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री