बिहीबार, १३ वैशाख २०८१

‘जलविद्युतमा जनतालाई शेयर दिने मोडालिटी छिट्टै सार्वजनिक हुँदैं छ’

समयपोष्ट २०७३ मंसिर २८ गते ६:४१

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने जानकारी दिएका छन ।  
प्रेस सेन्टर नेपाल मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने ‘जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा उर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको छ, त्यो छिट्टै सार्वजनिक गरिनेछ ।’ 
‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति रहेको उनले बताए । मन्त्री शर्माले लोडसेडिङ फेरी नफर्काउने गरी मन्त्रालय र विद्युत प्राधिकरणले काम गरिरहेको जानकारी दिए । 
प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन मन्त्रालय लागिपरेको बताए । लोडसेडिङ अन्त्य भएपछि व्यापार व्यवसाय, शान्ति सुरक्षा र समग्र अर्थतन्त्रको क्षेत्रमा उत्साहजनक सुधार आएको भन्दै मन्त्री शर्माले लोडसेडिङ सदाको लागि अन्त्य गर्ने गृहकार्य भइरहेको बताए । 
उनले अँध्यारोको विरुद्ध उज्यालो ल्याउने अभियानमा बाधा हाल्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए । मन्त्रालयले स्पष्टीकरण सोधेका ३ जना प्राधिकरण संचालकहरुतर्फ संकेत गर्दै मन्त्री शर्माले उज्यालो अभियानमा अबरोध खडा गर्नेलाई कार्वाही गरेरै छाड्ने चेतावनी दिए । प्राधिकरणले विद्युत उत्पादन कम्पनी मार्फत अपर अरुण निर्माण गर्ने प्रस्ताव अघि सारेपछि प्राधिरणका संचालकहरु लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले त्यसको विरोध गरेका थिए । उनीहरुले बोर्डका अध्यक्ष विनाको बैठक राखी ‘नक्कली माइन्युट’ तयार गरी संचार माध्यमहरुलाई वितरण गरेको कारण देखाउदै उर्जा मन्त्रालयले उनीहरुमाथि स्पष्टीकरण सोधेको छ । 

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री