आइतबार, १६ वैशाख २०८१

२८ करोडमा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ अलपत्र

समयपोष्ट २०७९ मंसिर २७ गते १४:४४

Advertisement

कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ ।

तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले विसं २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो ।

सरकारले २०७८ साल असार २५ देखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो ।

नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माणका लागि ठेक्का पाएको थियो । निर्माण सुरु भएको नौ महिना अर्थात् २०७८ साल चैत मसान्तमा होल्डिङ सेन्टरको निर्माण सकिएको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले होल्डिङ सेन्टर सरकारले सञ्चालनको निर्णय गरेपछि हस्तान्तरण हुने बताउनुभयो ।

उहाँका अनुसार होल्डिङ सेन्टरमा रु २८ करोड लगानी भएको छ भने ६० वटा भवन छन् । जसमा १३ वटा भान्सा घर, २२ वटा शौचालय तथा एक हजारभन्दा बढी मानिस अट्ने २२ वटा क्वारेन्टिन भवन छन् ।

क्वारेन्टाइनमा नौ सय शय्यामा सामान्य लक्षण भएकालाई राखिने र बाँकी एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिनेछ । साथै सरकारी प्रतिनिधिका लागि तीनवटा एसीसहितका भवन निर्माण गरिएको छ ।

निर्र्माण कम्पनीका साइट इञ्चार्ज विशाल दाहालका अनुसार होल्डिङ सेन्टर हस्तान्तरणमा ढिलाइका कारण आर्थिक तथा सुरक्षाको चुनौती थपिएको छ । सेन्टरबाट केही समयअघि १६ वटा पङ्खा चोरी भएको थियो । हाल होल्डिङ सेन्टरमा दुई सशस्त्र प्रहरी र एक नेपाल प्रहरीले सुरक्षार्थ खटाइएको छ ।-

प्रतिक्रिया

सम्बन्धित सामाग्री