आइतबार, ६ जेठ २०८१

त्रिशूली–छहरे खण्डमा पछिल्लो समय सबैभन्दा बढी भौतिक प्रगति,छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

समयपोष्ट २०७७ मंसिर ३० गते १०:१५

Advertisement

बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ ।

जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । तिहारलगत्तै सडक निर्माणको काम धमाधम भइरहेको योजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । काम नियमित हुँदा अबको एक महिनामा सकिने देखिएको छ । ढिकुरेमा जग्गासम्बन्धी विवादका कारण झण्डै २०० मिटरमा निर्माण अघि बढ्न नसके पनि अरु खण्डमा निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ढिकुरेमा मुआब्जाका लागि जग्गाको मूल्य निर्धारण भए पनि स्थानीयवासीले त्यसमा चित्त बुझाउनुभएको छैन ।”

त्यो ठाउँलाई छाडेर अन्यत्र सडक कालोपत्रको काम भइरहेको प्रमुख प्रजापतिले बताउनुभयो । छहरेबाट शुरु गरेर त्रिशूलीतर्फको सडक निर्माण अघि बढाइएको छ । समग्रमा छहरेबाट उता प्रगति राम्रो छ । सात वर्ष पहिले शुरु भएको यो सडकमा निर्माण कम्पनीलाई सडक विभागले अहिलेसम्म चारपटक अवधि थपिसकेको उहाँले बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार पछिल्लोपटक गत फागुनमा रुग्ण ठेक्कालाई अन्तिमपटक एक वर्ष अवधि थप भएको थियो । आयोजनाअन्तर्गतका अरु दुई ठेक्कामा अझै अर्काेपटक अवधि थप्न आवेदन आइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खण्डमा मुआब्जा विवाद भएका ठाउँबाहेक अरु ठाउँमा पुससम्ममा सकिनेछ ।”

यो सडकको जम्मा तीन ठेक्कामा निर्माणको काम अघि बढाइएको छ । आयोजनाले बालाजुबाट त्रिशूली ५५ किमी र त्रिशूलीबाट छहरे ११ किमी गरेर यो आयोजनाले ६६ किमी हेरिरहेको छ । विसं २०७०÷७१ मा ठेक्का सम्झौता भएको थियो । बालाजु–त्रिशूली सडकको निर्माण भने अझै पनि सुस्त छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री