बिहीबार, १५ चैत २०८०

भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो

समयपोष्ट २०७४ पुष ८ गते ६:४१

‘गाग्री बोकेर पानी लिन जाँदा ठ्याक्कै डेढ घण्टा लाग्थ्यो, अहिले घरघरैका धारामा पानी आयो’ गोरखा भूकम्पले घर नजिकका पानीको मुहान सुकाएपछि काकाकुलजस्तै भएको सौरपानी अर्चले गाउँकी धनीमाया पनेरुले भनिन्, “गाउँमा पानीको सुविधा आएपछि नयाँ घर बनाउन सजिलो भयो भने करेसाबारीमा तरकारी लगाएका छौँ ।”

Advertisement

गोरखाको सुलीकोट गाउँपालिका–४ सौरपानी अर्चले भैलाम गाउँका ४८ वटा घरमा अहिले छेलोखेले पानी पुगेको छ । पानी समस्याले हैरानी खेपेका गाउँलेले ३५ दिनमै खानेपानी आयोजना पूरा गरेका थिए ।

जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय गरी गोरेटो गोरखाले अक्सफामको आर्थिक सहयोग तथा उपभोक्ताको श्रमदानमा आयोजना पूरा गरी घरघरै पानी पु¥याएको हो ।

गोरेटो गोरखाका कार्यक्रम संयोजक पुरुषोत्तम ढकालका अनुसार अक्सफामले रु २२ लाख ६७ हजार र उपभोक्ताले रु आठ लाख ४६ हजारको श्रमदान गरी कूल रु ३१ लाख १३ हजारको लगानीमा ढापेखोला खानेपानी आयोजना निर्माण भएको हो । स्थानीय जनप्रतिनिधिसमेत रहेकी जानुका पनेरुले भनिन्, “गाउँमा सानो आयोजना बनेको भए पनि गाउँले खुशी देखिनुका कारण अब डेढ घण्टा लगाएर पानी बोक्न पर्दैन भन्ने हो ।”

उपभोक्ता समितिका अध्यक्ष होमबहादुर पनेरुका अनुसार खानेपानी आयोजना निर्माण गर्न आर्थिक सहयोग गर्ने संस्थाका प्रमुख तथा पाहुनालाई गाउँमा कार्यक्रम गरी धन्यवाद दिइयो भने खुशी साटासाट गर्दै भोजभतेर पनि गरियो । अक्सफाम गोरखा प्रमुख विजयराज पन्तले भूकम्पपछि गोरखामा रु सात करोड ८० लाख लगानी गरी विभिन्न ४२ वटा खानेपानी आयोजना निर्माणलाई अक्सफामले सहयोग गरेको जानकारी दिए ।

दुई वटा ट्यांकी बनाएर घरघरैका धारामा वितरण गरेको खानेपानी आयोजनाको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले उद्घाटन गर्दै आयोजना बिग्रिएको खण्डमा समयमै मर्मत गर्न उपभोक्तालाई आग्रह गरे । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री