शुक्रबार, १६ चैत २०८०

ग्रामिण भेगका महिलाको दैनिकी यसरी फेरीदै, श्रीमानको आसमा बाँच्ने दिन गए

समयपोष्ट २०७४ पुष ५ गते ८:१७

कञ्चनपुर स्थित  बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् । घर खर्चका लागि श्रीमानकै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् । उनीहरु व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, लघु उद्यम, साना उद्योग, हस्तकलाका सामग्री निर्माण र व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् ।

Advertisement

महिला विभिन्न समूहमा आबद्ध भई रकम बचत गरी सोही रकम ऋणका रुपमा परिचालन गरी आम्दानी गर्न थालेका छन् । सिद्धनाथ समूहमा आबद्ध सकुन्तला साउद लघुवित्त कार्यक्रममार्फत गठन भएको समूहले ऋण दिन थालेकाले घरमै बसी बसी आम्दानी गर्न सहज भएको बताउछिन् ।

सरस्वती साउदले ऋण निकालेर श्रीमानलाई वैदेशिक रोजगारमा पठाएकी छिन् । समूहबाट रु ७० हजार र आफूसँग रहेको रु २० रकम खर्चेर श्रीमानलाई विदेश पठाएको उनले बताईन् । उनले वैदेशिक रोजगारबाट कमाएको पैसा किस्ताका रुपमा समूहमा जम्मा गर्दै आएकी छिन् ।

बेलडाँडी गाउँपालिका– ४ का आरती केसीले समूहबाट रकम निकाली छोराका लागि कुखुरा फार्म सञ्चालन गरेकी छिन् । सोही गाउँपालिका–२ चन्दबस्तीकी जैमती पाण्डेयले बचत गर्दै आएको समूहबाट रु एक लाख ऋण झिकेर खाजा पसल सञ्चालन गरेकी हुन् । घरमै बसी बसी आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ ।

समूहमा बचत गर्दै आएका महिलामध्ये धेरैले शैक्षिक कर्जासमेत लिएका छन् । समूहबाट ऋण लिएर भैँसी खरिद गरेका महिलाले नजिकैको चवन्नी बजारमा दैनिक दूध बेचेर आम्दानी लिँदै आएका छन् । लघु वित्त कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी संस्थाका कार्यकारी प्रमुख मदन भट्टका अनुसार सहकारीले दैजी, बेलडाँडी, बेलौरी र वाणीमा शाखा कार्यालय सञ्चालन गरी लघु वित्त कार्यक्रमअन्तर्गत २०२ केन्द्रमा ८७८ वटा विपन्न समुदाय र आर्थिक रुपमा पछाडि परेका महिलाका समूह गठन गरिएकमाके छ । गठित समूहमा तीन हजार ५१३ महिला आबद्ध छन् ।

समूहमा आबद्धमध्ये एक हजार ६५२ महिलाले समूहबाट ऋण निकाली आयआर्जका कार्यक्रम सञ्चलन गरेका छन् । रु १० करोड १४ लाख ६८ हजार रकम लगानी गरिएको भट्टले बताए । व्यवसायको प्रकृतिका आधारमा समूहमा आबद्ध महिलालाई रु ५० हजारदेखि रु एक लाखसम्म ऋण उपलब्ध गराइँदै आएको छ । समूहमा आबद्ध महिलाले रु एक करोड १९ लाख ६३ हजार ३४० रकम बचत गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री