बुधबार, १२ वैशाख २०८१

कार्यालयमा अनुचित व्यवहारले बिरामी बिदा बढाउँछ !

समयपोष्ट २०७४ मंसिर २८ गते ३:२५

कार्यालयमा अनुचित व्यवहार बढी हुँदा त्यसले कर्मचारी बिदामा बस्ने सम्भावना पनि बढाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ । कार्यालयमा आफूमाथि नराम्रो व्यवहार भइरहेको अनुभव गर्ने कर्मचारीहरू बढी बिदामा बस्ने बीएमसी पब्लिक हेल्थ जर्नलको पछिल्लो संस्करणमा प्रकाशित अध्ययन प्रतिवेदनले देखाएको हो । बिरामी बिदा संस्थाहरूको प्रमुख चिन्ताको विषय हो भने काम गर्ने वातावरणमा महत्त्वपूर्ण योगदान दिने तत्त्व रहेको बेलायतस्थित युनिभर्सिटी अफ इष्ट एङ्गोला र स्वीडेनस्थित स्टकहोम युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले बताएका छन् ।

Advertisement

रोजगारीमाथिको नियन्त्रण र निर्णय निर्माणको अवसर कम हुँदा त्यसले कर्मचारी बिरामी बिदामा बढी बस्ने गरेको विगतमा प्रशस्तै उदाहरणहरू रहेका छन् । यो अध्ययन व्यवस्थापकहरूले कर्मचारीमाथि गर्ने व्यवहारसँग सम्बन्धित अन्तरक्रियात्मक न्यायमाथि बढी केन्द्रित भएको छ । १९ हजारभन्दा बढी कर्मचारीमाझ अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा अनुसन्धानकर्ताहरूले पारस्परिक र सूचनात्मक न्याय र लामो तथा लगातारको बिरामी बिदाबीचको सम्बन्धको अध्ययन गरेका थिए । उनीहरूले असुरक्षित रोजगारीजस्ता कार्यालयमा रहेका उच्च अनिश्चियले बिरामी बिदामा प्रभाव पार्छ कि पार्दैन भन्नेबारे पनि अध्ययन गरेका थिए ।

कार्यालयमा न्यायको स्तरमा कमी आउँदा त्यसले कर्मचारीहरू लगातार छोटो समयका बिरामी बिदा बस्ने सम्भावनालाई बढाउने गरेको अनुसन्धानमा पाइयो । त्यस्तै, आफ्नो जागीर असुरक्षित भएको महसूस गर्दा लामो समयका लागि लगातार बिरामी बिदा बस्ने सम्भावना बढ्यो । ‘छोटो समयका लागि बिरामी बिदा बस्दा कर्मचारीहरूले कामको तनाव कम गर्ने मौका पाउने भए पनि लगातार लामो समयसम्म बिदा बसिरहनु भने कुनै गम्भीर स्वास्थ्य समस्याको लक्षण हुन सक्छ,’ युनिभर्सिटी अफ इष्ट एङ्गोलाका अनुन्धानकर्ता कोन्ष्ट्याण्ट इबले भने । श्रमशक्तिलाई स्वस्थ राख्न र बिरामी बिदामा कमी ल्याउन कर्मचारीलाई न्यायपूर्ण व्यवहार गर्न यस अध्ययनले सुझाएको छ । रासस/पीटीआई

प्रतिक्रिया

सम्बन्धित सामाग्री