शुक्रबार, १६ चैत २०८०

प्रत्यक्षतर्फ भारी मतान्तरले पराजित नेपाली कांग्रेस समानुपातिकमा पहिलो

समयपोष्ट २०७४ मंसिर २६ गते १३:०७

मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागलुङमा प्रत्यक्षतर्फ भारी मतान्तरले पराजित नेपाली कांग्रेस समानुपातिकतर्फ भने जिल्लाको पहिलो दल बनेको छ ।
मंगलबार बिहान सकिएको समानुपातिक तर्फको मतगणना अनुसार कांग्रेसले अरू दलले भन्दा बढी मत ल्याएर पहिलो पार्टी भएको हो । जिल्लामा एमाले दोस्रो, जनमोर्चा तेस्रो र माओवादी केन्द्र चौथो पार्टी बनेका छन् । विवेकशील साझा पार्टीले नयाँ शक्ति पार्टी नेपाल भन्दा दोब्बर बढी मत ल्याएको छ । पहिलो भएको कांग्रेसले प्रतिनिधिसभातर्फ ३६ हजार ६३८ र प्रदेश सभातर्फ ३३ हजार ६४० मत पाएको छ । एमालेले प्रतिनिधिसभातर्फ ३० हजार ६३५ र प्रदेशसभामा २९ हजार ५४ मत ल्याएको बागलुङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्लाबाट उनको पार्टीले प्रतिनिधि सभामा १५ हजार ९३४ र प्रदेशसभामा १६ हजार ७०२ मत पाएको छ । राष्ट्रिय रूपमा तेस्रो बनेको नेकपा माओवादी केन्द्र बागलुङमा भने चौथोमा झरेको छ । उसले प्रतिनिधिसभामा १४ हजार ४५० र प्रदेशसभामा १३ हजार ८०३ मत ल्याएको छ।त्यस्तै गाई चिह्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा एक हजार २१२ र प्रदेशसभातर्फ एक हजार ५७२ मत पाएको छ। विवेकशील साझा मतमा नयाँ शक्ति पार्टी नेपालभन्दा अघि जिल्लामा संगठन समेत नभएको विवेकशील साझा पार्टीले डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालले भन्दा दोब्बर बढी मत ल्याएको छ ।
विवेकशील साझालाई प्रतिनिधि सभामा एक हजार ३४ र प्रदेश सभामा एक हजार १३८ मत आएको छ । नयाँ शक्ति पार्टी नेपालले चाहिँ प्रतिनिधिसभामा ५३६ र प्रदेशसभामा ४२५ मत ल्याएको छ। त्यस्तै क्रान्तिकारी माओवादीको देशभक्त गणतान्त्रिक मोर्चाको ८६९, नेकपा मालेको ३६४, संघीय समाजवादी फोरमको २३२, राप्रपा राष्ट्रवादीको ४३ मत प्राप्त गरेका छन ।
आमूल परिवर्तन मसिहा पार्टीले १६५ मत पाएको छ । एक लाख ६७ हजार कुल मतदाता रहेको बागलुङमा समानुपातिकतर्फ एक लाख आठ मत खसेको थियो । यस मध्ये छ हजार ६५३ मत बदर भएको छ । प्रत्यक्षतर्फ भने बागलुङका दुई प्रतिनिधि सभा र चार प्रदेश सभा गरी छ वटै सिटमा एमाले, माओवादी केन्द्र र जनमोर्चा सम्मिलित वाम गठबन्धनले कांग्रेसलाई शून्यमा झारेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री