मंगलबार, ११ वैशाख २०८१

मुलुक अब संघीयताको नयाँ युगमा

समयपोष्ट २०७४ मंसिर २१ गते ३:१०

देश र प्रतिनिधिसभाको दोस्रो चरणको मतदान आज हुँदै छ । तराई र पहाडी ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ सांसद निर्वाचित हुनेछन् । 

Advertisement

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदान गर्न आयोगले मतदातालाई आग्रह गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र हुनेछन् । १ लाख ५५ हजार कर्मचारी र करिब २ लाख सुरक्षाकर्मी परिचालित छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ हजार ६६३ र प्रदेश सभामा २ हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।
मतदाता परिचयपत्र नभए के गर्ने रु
मतदाता परिचयपत्र नभए पनि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ ।

मतगणना आजैबाट
आयोगका अनुसार आजै साँझ ५ बजेपछि मतणना सुरु हुनेछ । पहिलो चरणमा १० मंसिरमा मतदान भएका ३२ जिल्लामा साँझ ५ बजेबाटै गणना सुरु हुनेछ ।

आज मतदान हुने जिल्लामा मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको कार्यतालिका सार्वजनिक हुनेछ ।
४ दिनभित्र मतपरिणाम
आयोगले ४ दिनभित्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।

प्रत्यक्षतर्फको मतगणना आज साँझ ५ बजेबाट सुरु हुनेछ । आयोगले गणना सुरु भएको ४ दिनभित्र मतगणना सम्पन्न गर्ने गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि समानुपातिकको मतगणना सुुरु हुनेछ । आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको ४ दिनभित्र समानुपातिको मतपरिणाम आइसक्नेछ ।

आयोगको निर्देशिकाअनुसार सम्भव भए प्रत्यक्ष र समानुपातिकको मतगणना सँगसँगै गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई भनिएको छ ।

तर, त्यसरी मतगणना गर्दा प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभाका दुईवटा र समानुपातिकतर्फका दुईवटा गरी ४ वटा समूह बनाउनुपर्ने हुन्छ । मतगणनास्थल र जनशक्तिअनुसार दल र निर्वाचन अधिकृतबीचको सहमतिअनुसार कुन पहिला गणना गर्ने भन्ने निर्धारण गर्न पनि सक्नेछन् ।

तर, सामान्यतः पहिलो प्रतिनिधिसभाको प्रत्यक्ष, त्यसपछि प्रदेशको प्रत्यक्षको गणना हुने सम्भावना छ । यी दुवै गणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।

मतदान कसरी गर्ने ?
दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रबाट १ करोड २२ लाख ३५ हजार ९९० मतदाताले मतदान गर्नेछन् । ती जिल्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका लागि १२८ र प्रदेश सभातर्फ २५६ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तर, उनीहरूले ४ वटा मतपत्र भएको ३ वटा पाना पाउनेछन् । मतदानका लागि लाइन बसेका मतदाताले सुरुमा हरियो रंगको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एउटा मतपत्र पाउनेछन् ।

उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि कालो रंगको प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्, तर उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि रातो रंगको समानुपातिकतर्फको ठूलो आकारको मतपत्र पाउनेछन् ।

उक्त पाानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभातर्फ आफूले रुचाएको दललाई दुई ठाउँमा मतदान गर्नुपर्नेछ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री