शुक्रबार, १४ वैशाख २०८१

६५ वर्षपछि डीडीसीको याक चिजले पायो जैविक प्रमाणपत्र

समयपोष्ट २०७४ मंसिर १९ गते ४:०२

नेपाल दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरी विक्री गर्दै आएको याक चिजले जैविक प्रमाणपत्र प्राप्त गरेको छ । संस्थानले उक्त चिज उत्पादन गरेको करीब ६५ वर्षपछि जैविक प्रमाणपत्र प्राप्त गरेको संस्थानका उपमहानिर्देशक ईश्वरीप्रसाद अधिकारीले बताए ।

Advertisement

संस्थानले सोमवार एक कार्यक्रम गरी याक चिजले पाएको जैविक प्रमाणपत्र सार्वजनिक गरेको छ । २००९ सालमा लाङ्टाङको क्याञ्जिङ गुम्बामा कारखाना स्थापना गरी याकको चिज उत्पादन शुरू गरेको संस्थानले बताएको छ । उत्पादनको लामो समय भए पनि विभिन्न कारणले गर्दा जैविक प्रमाणपत्र लिन नसकेको उपमहानिर्देशक अधिकारीले जानकारी दिए । चिज उत्पादनको विभिन्न उतारचढावलाई पछि पार्दै ६५ वर्षपछि प्रमाणपत्र प्राप्त गर्न सफल भएको उनले स्पष्ट पारे ।

याक चिज नेपालको चिनारी बोकेको ऐतिहासिक दुग्ध पदार्थ भएकाले यसको उत्पादनलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको कार्यक्रममा बताइयो । यसलाई प्रिमियम मूल्यमा विक्री गरी त्यसबाट प्राप्त हुने रकम कृषकलाई उपलब्ध गराउन प्रमाणपत्र लिएको संस्थानले दाबी गरेको छ ।

याक चिज उच्च हिमाली भेगको खर्कमा पाइने विभिन्न प्रकारका जडीबुटी मिश्रित विषादी र रासायनिक मलरहित स्वच्छ वातावरणमा उम्रिएको घाँस खाएर बाँच्ने चौरीको दूधबाट बन्ने गरेको छ । यसको पौष्टिक तथा औषधीय गुणसमेत उच्च भएकाले जैविक प्रमाणपत्र प्रदान गरिएको अग्र्यानिक सर्टिफिकेशन नेपालका बजार प्रवद्र्धनतर्फका निर्देशक उमेश लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री