बिहीबार, १५ चैत २०८०

सूचना र सञ्चार क्षेत्रमा जनताको पहुँच बढ्न थाल्यो ,इन्टरनेट र मोबाइलका प्रयोगकर्ता बढ्दै

समयपोष्ट २०७४ मंसिर १५ गते ६:५४

म्याग्दी  जिल्लाका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा छन् । २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कूल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७.८ प्रतिशत अर्थात् ८८ हजार ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेको यहाँस्थित दूरसञ्चार कार्यालयले जनाएको छ ।

Advertisement

उक्त कार्यालयको गत आर्थिक वर्ष २०७३–७४ को विवरणअनुसार कूल ८८ हजार ३९९ जना म्याग्दीवासी सञ्चार सञ्जालसँग जोडिएका हुन् ।जिल्लामा हाल प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका प्रयोगकर्ता १५ हजार २६३ छन् ।

यसैगरी पोस्टपेड मोबाइल बोक्ने एक हजार ६७८, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५०९ जना ग्राहक रहेको कार्यालय प्रमुख विष्णुदेव शाहले बताए । ल्याण्डलाइन टेलिफोन सेवातर्फ सदरमुकाम बेनीबजारमा मात्रै एक हजार २२२ जना ग्राहक रहेको जानकारी दिँदै उनले धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेको जानकारी दिए ।

त्यस्तै एडिएसएलतर्फ अनलिमिटेड इन्टरनेटको बेनीबजार, गलेश्वर र घोरेपानीमा ४३० ग्राहक छन् । भिस्याट टेलिफोनका भने जिल्लाभरि २६ जना ग्राहक रहेको कार्यालय प्रमुख शाहले जानकारी दिए । म्याग्दी जिल्लाको विभिन्न ठाउँमा गरी कूल ३१ ओटा बिटिएस सञ्चालनमा रहेकामा मोबाइल २३, सिडिएमए पाँच र वाइम्याक्सको चारवटा टावर सञ्चालन गरिएको छ ।

सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पसचोक, बेनी नगरपालिकाको पाँच र ९ नं वडामा मोबाइल फोनका लागि बिटिएस सञ्चालन गरिएकामा अन्नपूर्ण गाउँपालिकामा ६, रघुगंगामा दुई, मंगलामा तीन, मालिकामा दुई र धौलागिरि गाउँपालिकाको तीन ठाउँमा बिटिएस सञ्चालनमा रहेको प्रमुख शाहले बताए ।

सिडिएमए सेवाको मालिका, अन्नपूर्ण गाउँपालिका र नगरपालिका क्षेत्रमा टावर सञ्चालन गरिएको छ भने वाइम्याक्स सेवाका लागि नगरपालिकासहित मालिका र अन्नपूर्णमा बिटिएस जडान गरिएको छ

यस्तै भिस्याट फोन सेवाका लागि जिल्लाको ११ वटा ठाउँमा टावर सञ्चालन गरिएको छ । चालु वर्षमा उक्त कार्यालयले बिटिएस स्थापना गर्न विभिन्न आठ ठाउँका लागि आगामी योजना अगाडि सारेको बताएको छ ।

भौगोलिक विकटता रहे पनि जिल्लाको झण्डै सबै जनसङ्ख्या कुनै न कुनै माध्यमबाट सञ्चारको पहुँचमा रहेको टेलिकमले दाबी छ । जिल्लामा एनसेल मोबाइलका समेत प्रयोगकर्ता रहेका छन् भने एउटै व्यक्तिले चार–पाँचवटासम्म मोबाइल बोक्ने गरेको पाइएको छ ।

टेलिकमले पछिल्लो समय विभिन्न आकर्षक योजना ल्याएपछि इन्टरनेट चलाउने र मोबाइलका प्रयोगकर्ता बढ्दै गएको जनाइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री