भ्रमण वर्ष सफल पार्न पशुपति–वसन्तपुर पदयात्रा

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन राजधानीका सम्पदा सफाइ गर्ने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिबाट वसन्तपुरसम्म पदयात्रा गरिएको छ ।

Advertisement

सफाइ अभियानकर्मीको सक्रियतामा बेटर नेपालको आयोजनामा भएको पदयात्रामा ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । पदयात्राको शुरुआत गर्नुहुँदै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले स्वतःस्फूर्त रुपमा सम्पदा सफा गर्ने उद्देश्यले कार्यक्रम शुरु गरिनु उत्साहजनक काम भएको बताउनुभयो ।

“पुरातात्विक, ऐतिहासिक स्थलबाट पदयात्रा शुरु हुनु पर्यटन वर्षका लागि उत्साहको विषय हो, हाम्रो जननी राष्ट्रप्रति हामीले गौरव गर्नुपर्छ, पाँच हजार वर्ष पुरानो इतिहास बोकेको नेपालले कसैको अघि घुँडा टेकेको छैन, यसैले हामी स्वतन्त्रता दिवस मनाउँदैनौँ, लोकतन्त्र दिवस र गणतन्त्र दिवस मनाउँछौँ”, उहाँले भन्नुभयो ।

भ्रमण वर्षको सफलताका लागि पर्यटकलाई मुस्कानले स्वागत गर्नुपर्ने, सम्पदा, नदी नालालाई सफा राख्न सके सुन्दर काठमाडौँमा लाखौँ विदेशी पर्यटक आउने नेता नेपालको विश्वास थियो । सफाइ गर्ने संस्कार बालबालिकादेखि नै शुरु गर्नुपर्ने उहाँको भनाइ थियो । पर्यटन वर्षका लागि सम्पदा स्वच्छ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेटर नेपालकी अध्यक्ष एवं वाग्मती सफाइ अभियानकर्मी माला खरेलले बताउनुभयो । कार्यक्रम संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले उपत्यकाका सम्पदा सफाइका लागि जनचेतना जगाउन आजदेखि एक महिना पदयात्रा अभियान चलाइने बताउनुभयो । पदयात्रा प्रत्येक हप्ता शनिबार एउटा सम्पदाबाट अर्को सम्पदासम्म गरिने छ ।

पशुपति–जयवागेश्वरी–गौशाला–रातोपुल–ज्ञानेश्वर–सानोगौचरण–नारायणहिटी–ठमेल–ठहिँटी–इन्द्रचोक हुँदै पदयात्रा वसन्तपुर आइपुगेको थियो । बाजागाजा एवं सांस्कृतिक झाँकी सहितको पदयात्रालाई पशुपति क्षेत्रमा काठमाडौँ महानगरपालिका वडा नं ८ का अध्यक्ष दीनेशकुमार डङ्गोल सहितका जनप्रतिनिधि, गौशालामा वडा नं. ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ सहितका जनप्रतिनिधि र रातोपुलमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की सहितका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

Advertisement

वसन्तपुरस्थित हनुमानढोका दरबारअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य गणेश दुलालले भ्रमण वर्षमा सम्पदा सफाइ अभियानलाई सहयोग गर्न प्रदेश सरकारका तर्फबाट पनि पहल गर्ने वचन दिनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिकी कार्यकारी निर्देशक अरुणा नकर्मी, सफाइ अभियानकर्मीद्वय रोहित गिरी र कञ्चन रावत लगायतले सफा काठमाडौँको जनचेतना अभिवृद्धिका लागि भ्रमण वर्ष पूर्वसन्ध्यामा सम्पदा पदयात्रा गरिएको जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री