मंगलबार, ११ वैशाख २०८१

ताराखोला जलविद्युत् आयोजनाको ८० प्रतिशत् काम सम्पन्न, आउँदो चैत्रभित्र बिजुली

समयपोष्ट २०७५ मंसिर १३ गते ६:४१

बागलुङस्थित ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ । “विद्युत् गृहको काम भइरेको छ”, इञ्जिनीयर थापाले भन्नुभयो, “आउँदो चैतभित्रमा बिजुली बल्छ ।” विद्युत्गृहमा चाहिने मुख्य उपकरणसमेत चीनबाट आइसकेको छ । पहिले सामुदायिक ढाँचाको आयोजना अहिले ताराखोला जलविद्युत् लिमिटेडमार्फत निर्माण भइरहेको हो । रु १८ करोडको लागतमा बन्ने आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको छ भने गाउँपालिकाका एक हजार ६९१ ले शेयर हालेका छन् । लागत थप बढ्न सक्ने अनुमान गरिएको छ ।

गाउँपालिकाका पाँच वटै वडाका २२ घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय बिजुली पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् । प्रत्येक घरधुरीबाट न्यूनतम रु १५ हजारका दरले शेयर उठाइएको छ । “सक्नेले बढी पनि लगानी गर्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भन्नुभयो, “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” यसै वर्षभित्र विद्युत्गृहमा बिजुली बले पनि घरघरमा विद्युत्करण गर्न थप समय लाग्ने उहाँको भनाइ छ । विद्युतीकरणको लागि तार विस्तारको काम पनि अघि बढेको छ ।

आयोजनास्थलमा धमाधम काम भइरहेकाले समयमै लक्ष्य पूरा हुने उहाँले बताउनुभयो । विसं २०६८ मा शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्ती जस्ता कारणले आयोजना पछि धकेलिएको हो । कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापन समेत फेरिएको थियो ।

केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनीयर थापाले बताउनुभयो । पहिलो किस्ता अनुदान रु एक करोड ८२ लाख र दोस्रो किस्ता रु एक करोड ८९ लाख आयोजनाले पाइसकेको छ । कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ । आयोजना सम्पन्न भएपछि ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “सबै घरमा विद्युत् पु¥याउने लक्ष्य आयोजनाले पुरा गर्दैछ”, उहाँले भन्नुभयो । गाउँलेको समेत लगानीमा बन्न लागेको आयोजनामा आवश्यक पर्दा गाउँपालिकाले सहजीकरण गर्दै आएको छ ।

स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा निर्माणाधीन विद्युत्गृहमा ल्याइनेछ । हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री