शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किए उपराष्ट्रपति (१० तस्वीरमा हेर्नुहोस्)

‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शे–फोक्सुण्डो ताल र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवद्र्धन कार्यक्रममा भाग लिएका छन् । उनले दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई संबोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवद्धर्न गर्नुपर्ने बताए ।

Advertisement

उपराष्ट्रपति पुनले बुधबार विहान डोल्पाको शे–फोक्सुण्डो तालको किनारामा आयोजित शे–फोक्सुण्डो पर्यटन प्रवद्र्धन कार्यक्रमलाई संबोधन गरे । कार्यक्रममा उनले शे–फोक्सुण्डो स्वर्गको परी भएको भन्दै भ्रमणका लागि सबैलाई अपिल गरे । ‘कर्णाली गरिब होइन धनी प्रदेश हो । आजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत साधन छ, ऊ नै धनी हो’, उनले भने, ‘कर्णाली धनी छ । स्वर्गको परी जस्तो शे–फोक्सोण्डो यहीं छ । सबैसम्म यसको सबैले भ्रमण गर्नुपर्दछ ।’

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षले कर्णालीको पर्यटन प्रवद्र्धन हुने बताए । ‘अब कर्णालीलाई सबैले चिन्नेछन् । सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछन् । यहाँको भ्रमण गर्नेछन्,’ उनले भने, ‘कर्णालीलाई धेरैले अझै पिछडिएको, गरिब प्रदेश भनेर चिन्छन्, तर अब हामी पर्यटन विकासका माध्यामबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौँ ।’

Advertisement

कर्णाली भ्रमणको क्रममा मंगलबार साँझ मुगुको रारामा नेपाी सेनाको व्यारेकमा बसेका उपराष्ट्रपति पुनले अपरान्ह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी र त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटन गरेका थिए ।

कर्णालीमा आयोजित कार्यक्रमहरुलाई संबोधन गर्दै उनले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताए । उनले कर्णालीको समृद्धिको आधार कृषि, पर्यटन र जडिबुटी भएको बताउँदै त्यसको प्रवद्र्धनमा विकास गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशका कानून तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिं बुढा सहभागी थिए । कर्णाली भ्रमणको क्रममा बुधबार विहान शे–फोक्सुण्डोको जललाई शीरमा चढाएका उपराष्ट्रपति शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किएका छन् । उनी कर्णाली प्रदेशको भ्रमणको लागि मंगलबार विहान जुम्ला प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री