मंगलबार, ११ वैशाख २०८१

बालसाहित्यका चम्किला तारा

समयपोष्ट २०७५ मंसिर २ गते १०:३१

यी युवा तस्बिरले म भन्न सक्दिनँ तर नामले अपरचित पटक्कै होइनन् । कतै हावा लहराइरहेको बेलामा यिनका आवाज कथावाचनमा बहिरहेको श्रवण गर्न पाउँछौँ । कतै टन्टलापुर घामको चर्को तापले घोचिरहेको बेला, रिसालु बानीको आवेगले भित्र–भित्र आगो भइरहेको बेला, कतै उल्झनमा परेर आफैँलाई वा आफ्ना बालबालिकालाई नै नचिनिरहेका बेला असल अभिभावकत्व, सकारात्मक अनुशासनका शीतल वचनहरुले हम्किरहेको पाउन सक्छौँ । नशामै अड्किरहेका सिर्जनाका रगतहरुलाई बगाउन कतै सिर्जनशील लेखन कार्यशाला त कतै कथा लेखन कार्यशालामा आफ्ना मेहनतहरु सिञ्चित गरिरहेको पाउँछौँ । बालबालिका माझ पठन कार्य, सीप र संस्कार, नेतृत्व तथा सकारात्मक मार्ग विकासका लागि सिर्जनशील क्लबको गठन, पाठक तथा समीक्षक क्लबको सञ्चालन, भित्तेपत्रिका लेखन कार्यशाला, कथावाचन कार्यशाला आदि–आदिमा यिनका अथक पाइलाहरु चलिरहेका, दौडिरहेका पाउन सक्छौँ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा परामर्शदाताको रुपमा काम गरिरहेका पाउन सक्छौँ । यो युवावय उमेरमै सयभन्दा बढी पुस्तकहरुका सर्जकका रुपमा नाम पढ्न पाउँछौँ– यशु श्रेष्ठ । हो, यशु श्रेष्ठ जो बालबालिका र शिक्षक–अभिभावकका माझ प्रिय नाम, नेपालका चर्चित युवा बालसाहित्य सर्जक, बालसाहित्य, पठन सीप र संस्कार विकासका अभियानकर्ता हुन् । बालसाहित्य अनि बालशिक्षाका गोरेटा अनि गल्लीहरुलाई कहीँकतै कसैलाई पीडा नदिई चौँडा बनाउँदै, सिर्जनाका बाटाहरुमा फूल र वासना छर्दै, उज्यालो रोप्दै अगाडि बढ्ने यी युवा सिर्जनाका राजमार्गमा एक चम्किला तारा नै हुन् ।

Advertisement

‘बालबालिका मलाई असाध्यै प्रिय लाग्छन् । यही बेलादेखि यिनीहरुमा सकारात्मक मार्गमा हिँड्ने, असल बाटो पहिल्याउने र असल मानिस बन्ने बानी पारिदिन सक्यो भने बल्ल देशले काँचुली फेर्ला । उमेर बढिसकेका मानिसहरुलाई त समाजमा चलेका असल वा खराब दुवै हावाले छोइसकेका हुन्छन् । यदि खराब हावाले छोएको छ भने उनीहरुलाई बदल्न गाह्रो हुन्छ तर बालबालिकाहरुलाई यी हावाहरुले छोएका हुँदैनन् । यिनीहरुलाई असल हावामा डुलाउन सकियो भने, सुवास दिने बाटो देखाइदिन सक्यो भने उनीहरु असल र सुवासिला हुन्छन् । हो, बालबालिकालाई असल हावामा डुलाउन सकिएला कि भनेर उनीहरुसँग हुन्छु । उनीहरुका लागि लेख्छु, बोल्छु र व्यवहार गर्छु’ भन्ने यशु बालसाहित्यमा नै लाग्छु भनेर लागेको चाहिँ होइन भन्छन् ।
‘बाल्यावस्थादेखि नै साहित्यमा रूचि जाग्यो । किताब पढ्नकै लागि बाल्यावस्थामा नै आफैँले पुस्तकालयसमेत स्थापना गरियो । जुन पुस्तकालय अहिलेसम्म पनि अस्थित्वमा नै छ । पुस्तकालयका विभिन्न पुस्तकहरु पढिन्थ्यो । लेखकहरु इमानदार, असल भनौँ न ईश्वरसरह हुन् झैँ लाग्ने । किताब–किताब, पेज–पेज जहाँ–तहाँ उनीहरुको नाम हुने । सरहरुले पनि यो फलानो लेखकले लेख्नुभएको हो भनेर सुनाउने, पढाउने । विदेशी लेखकहरुका रचनाहरु पनि सुनाउने । ओहो ! लेखक त देश–विदेश पुग्ने, घर–घर पुग्ने रहेछन् । बडो नाम चल्ने रहेछ । अजर–अमर हुने रहेछन् । आफ्ना भावना र विचार सबैसमक्ष राख्न पाउने रहेछन् । यस्तै–यस्तै गजबको लाग्ने मनमा । म पनि त्यस्तै हुन्छु भनेर लेख्ने कोसिसमा लागेँ । लेख्न थालेको कहानी पनि गजबको छ ।

यसरी लेख्दै जाँदा एउटा गोरेटो समाइएछ । आपूm हिँड्ने गोरेटो राम्रो त बनाउनै प¥यो । राम्रो बनाउनका लागि सरसल्लाह लिन थालेँ । लेखकहरुलाई खोजी–खोजी घरमै भेट्न जान्थेँ । लेखकलाई घरमै भेट्दा तीर्थमा भगवान् भेटेँ भने झैँ हुने । बडो उल्साह आउने मनमा । लेखेर मात्र त भएन । प्रकाशनका कुरा हुँदारहेछन्, बिक्रीका कुरा हुँदारहेछन्, पाठकलाई मन पर्ने लेख्नुपर्ने रहेछ, पठन संस्कारका कुरा हुँदारहेछन्, ओहो ! बुझ्दै जाँदा गहिरो रहेछ कुरा त । साहित्य लेखेर जीविका चलाउन सकिँदैन भन्ने पनि सुनियो । अब आफैँले रोजेको बाटोले जीविका चलाउन सकिएन भने त बर्बाद पो हुन्छ त भन्ने लाग्यो । यसैले पठन संस्कारको कुरा मनले समायो । बाल्यावस्थादेखि राम्रो संस्कार दिइयो भने त्यो संस्कारले कहिल्यै छोड्दैन, राम्रो हुँदै जान्छ । त्यहीअनुरुप बाल्यावस्थादेखि नै यो कुरा सुरू गराउनुपर्ने रहेछ झैँ अनुभव भयो । बालबालिकाका लागि राम्रो लेख्यो भने बालबालिकाले रमाइ–रमाई पढ्छन् । उनीहरुमा पढ्ने बानीको विकास हुन्छ । जब बाल्यावस्थादेखि नै पढ्ने बानीको विकास हुन्छ, तब पुस्तकहरु खोजी–खोजी पढ्न थाल्छन् । यसले पाठकलाई पनि राम्रो, लेखकलाई पनि राम्रो । यस्तै–यस्तै योजना मनमा बुनेर बालसाहित्यतिर ढल्किएँ ।’ यशु लेखन र बालसाहित्यमा रमाउनुको अनुभव यसरी सुनाउँछन्– ‘जे लेखे पनि पाठकलाई मन पर्ने लेख्नै पर्छ । नभए त यो क्षेत्रमा स्थापित हुन सकिँदैन । पाठकलाई मन पर्नेचाहिँ के रहेछ ? कस्तो लेख्नुपर्ने रहेछ ? बुझ्नका लागि बालसाहित्य सर्जकहरुको दैलोमा पुग्न लागेँ । बालसाहित्यका पुस्तकहरु पढ्न लागेँ । ती कुराहरु बालबालिकाहरुलाई सुनाउन लागेँ । बालबालिकाले मन पराउने कुरालाई समाएर लेख्न लागेँ । अग्रजहरुले पनि राम्र्रै लेख्दो रहेछस् भन्न लागे । एक–दुई पुस्तक लेखेर, पढाएर, पढेर कहाँ पठन संस्कारको विकास हुनु, समुद्र रहेछ यी कुराहरु । बालबालिकालाई पढ्ने मोह बढेपछि ती ठूलो हुँदै जाँदा मेरा प्रौढ रचनाहरु पनि पढ्छन्, बिक्री बढ्छ । म त प्रौढ रचना नै रच्ने हो भन्ने थियो । त्यसो भएन । बालसाहित्यमा गर्नुपर्ने काम त कति रहेछन् कति ! त्यसैले यसैमा लागिपरेँ । अहिले पनि लागिपरिरहेको छु । बालसाहित्य छोडेर प्रौढ साहित्य नै लेख्ने हो भन्ने योजनाको चाहिँ कुरै भएन । म बालसाहित्यमा नै डुबेँ र डुब्छु पनि ।’

बालसाहित्यको चर्चा–परिचर्चा चलिरहेको पाइँदैन । भनौँ न, एकदमै कम चलिरहेको पाइन्छ । यस्तो स्थितिमा यशुका आफ्नै विश्लेषन छन्– ‘जसले बुझेको छ, उसले गरेकै छ । ऊ लागिरहेकै छ । बुझ्दै गएपछि हुँदै जाने कुरा हो । चर्चै हुँदैन भन्नेचाहिँ होइन । पहिले जति थियो, त्योभन्दा धेरै गुणा बढेकै छ, बढ्दै जान्छ । अर्को कुरा, चर्चा भन्ने कुरा त्यो कति चिरस्थायी छ भन्ने कुरामा पनि भर पर्छ । जसको बोलवाला छ, उसको चर्चा चल्नु स्वाभाविक हो । क्षणिक चर्चाको केही काम लाग्दैन । जब चिरस्थायी चर्चा चलिरहन थाल्छ, चिरस्थायीरुपमा महत्व बुझिन्छ, त्योचाहिँ राम्रो हो । बालसाहित्यमा त्यो हुँदैछ, हुँदै जान्छ ।’ सामान्य नेपालीले जिउने जीवन बालसाहित्य लेखेरै, लेखाएरै बाँचिरहेका यशु यसप्रति धेरै नै सकारात्मक छन् । ‘कुन व्यवसाय छ, जसले जीविकोपार्जन गज्जबले गरिदिन्छ भन्ने ग्यारेन्टी गर्छ ! ग्यारेन्टी त आपूmले कत्तिको इमानदारी, मेहनत, उत्कृष्ट र निरन्तरताका साथ गरिन्छ भन्नेमा भर पर्छ । आपूmले गर्दै जाने हो, बनाउँदै जाने हो, हुँदै जान्छ । अहिलेसम्म मेरो जीविका बालसाहित्य र यसका क्रियाकलापले चलेकै छ । अब बालसाहित्य लेख्ने हो भनेर एउटा कुनामा बसेर लेखिरहने मात्र गरेर हुँदैन । यसका लागि लागिपर्नुपर्छ, यसका विविध कुराहरुलाई ध्यान दिएर काम गर्दै जानुपर्छ । मलाई लाग्छ, यसले अवश्य उत्कृष्ट जीवनयापन गराउँछ । साहित्य त बुढेसकालको साहरा पनि हो । पुस्तकहरुको पारिश्रमिकले पेन्सनको काम गर्छ । लगानी गरेर व्याज खाएको जस्तो पनि हो । पुस्तक साथी हो, जसले कहिल्यै पनि छोडेर जाँदैन ।’

बालसाहित्यमा उमेरअनुसारका बालरूचिलाई पहिल्याउँदै हिमाल, पहाड, तराई, मधेस, जातजाति, संस्कार, संस्कृति, समाज, इतिहास, मनोरञ्जन, अपाङ्गता भएका, दृष्टिविहीन सबैखालका बालबालिकालाई ध्यानमा राखेर लेख्न सक्नु यशुका विशेषता हुन् । ‘बालसाहित्यमा गर्नुपर्ने कामहरु धेरै–धेरै छन् । बालसाहित्य लहड चल्यो, लेख्यो भन्ने पनि होइन । आफ्नो आत्मसन्तुष्टिका लागि लेख्छु भन्न पनि पाइएन । हो, बालबालिकाका रूचिका विषयमा अध्ययन गरेर, उनीहरुलाई सुहाउने खुराक लेख्नमा आत्मसन्तुष्टि हुन्छ भने ठीक छ तर आफ्ना माग वा मनका कुरा पूरा गर्न लेख्छु भनेर बालसाहित्यलाई न्याय गर्न गाह्रो छ । बालसाहित्य अलि प्राविधिक पनि छ । विद्यालय शिक्षामा मुटु हो, बालसाहित्य । त्यसैले बालबालिकाका मनोविज्ञान, व्यवहार आदिमा साह्रै सचेत हुनुपर्छ बालसाहित्य सर्जकहरु’ भन्ने विश्वास राख्ने यशुका लेखनमा पनि यस्तै पाइन्छ ।

उनी लेखेर मात्र बस्दैनन् । लेखेका कुरालाई कसरी बालबालिका माझ पु¥याउन सकिन्छ, उनीहरुलाई कसरी सिर्जनशील बनाउन सकिन्छ, उनीहरुका सिर्जनालाई कसरी अरू माझ पु¥याउन सकिन्छ आदि–आदि धेरै कुराहरुमा गम्भीर भएर लागिपरेको पाउन सक्छौँ । यिनी कुशल कथावाचक हुन् । कुशल प्रशिक्षक हुन् । कुशल अभियन्ता हुन् । यिनलाई भेट्दा यो पंक्तिकार पनि साह्रै प्रभावित भएको र उत्साहित भएको क्षण सम्झँदै साँच्चै भन्छु– ‘सिर्जनाका एक चम्किला तारा हुन् यशु ।’

प्रस्तुतिः नेपाली रमित ‘विश्वास’
समयबोध म्यागेजिनको कात्तिक अंकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री