पश्चिम रुकुममा शुक्रबार भाईटिकाको साँझ ९ वर्षीया बालिका बलात्कार गर्ने त्यहाँका एक युवालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन् ।
बालिका बलात्कार अभियोग लागेका त्रिवेणी गाउँपालिका–८ का १९ वर्षीय सुरेश विकलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको हो ।
भाईटिकाको साँझ घरमा एक्लै बसिरहेकी ती बालिकालाई विकले फकाउँदै बोलाएर चकलेट र पैसाको प्रलोभन देखाई घरदेखि २ सय मिटर टाढा लगेर बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका डिएसपी सुमित खड्काले जानकारी दिए ।
उनले भने, ‘घटनास्थल ५ घण्टाको दुरीमा पर्छ । घटनाको दुई दिनपछि मात्र हामीलाई जानकारी आएकाले आरोपीलाई पक्राउ गर्न ढिलाई भएको हो । हामीले खोजी कार्य तिव्र पारेका छौं । निजविरुद्ध अदालतमा जबरजस्तीकरणी मुद्दा दर्ता पनि गरिसकेका छौं ।’
बालिकाको स्वास्थ्य अवस्था अहिले भने ठिक भईसकेको डिएसपी खड्काको भनाई छ ।
उता बर्दियामा पनि ११ वर्षीया बालिका बलात्कार भएको उजुरी परेको छ । जिल्लाको बढैताला गाउँपालिकाकी बालिका बलात्कार गर्ने दुई जना भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । ती दुवै जनालाई प्रहरीले पक्राउ गरी कार्बाही चलाएको छ ।
जंगलमा गाई चराउन गएको बेला उनी बलात्कृत भएको बताईएको छ । बलात्कार अभियोगी १८ बर्ष पुरा नभएका नाबालक भएकोले उनीहरुको परिचय पनि प्रहरीले गोप्य राखेको छ ।










प्रतिक्रिया