शुक्रबार, ७ कार्तिक २०८२

कालिञ्चोक केवलकार सञ्चालनमा, भाडा प्रतिव्यक्ति ५ सय

समयपोष्ट २०७५ कार्तिक १८ गते ५:५४

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ ।

Advertisement

दशैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालिञ्चोक र कालिञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

कालिञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए। कालिञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब रु ४५ करोडको लागतमा सम्पन्न भएको हो । केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति रु पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए।

सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री