
प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन आइतबार पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एवं एसपी शिवकुमार श्रेष्ठका अनुसार, बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनविरुद्ध चलिरहेको कर्जा दुरुपयोग तथा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा सीईओ शेरचनलाई पक्राउ गरिएको हो ।
यसअघि गत कात्तिक ११ गते प्रभु म्यानेजमेन्ट प्रालिकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई सीआईबीले नियन्त्रणमा लिएको थियो । उक्त जाहेरीमा करिब ९८ करोड रुपैयाँ ठगी भएको उल्लेख छ ।
सीआईबीले तत्कालीन अध्यक्ष भट्टचन र सञ्चालक कुसुम लामाकै कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिलाई प्रभु बैंकबाट करिब १ अर्ब रुपैयाँ कर्जा दिइएको र त्यसको दुरुपयोग भएको आशंकामा अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानकै सिलसिलामा कात्तिक २२ गते सीआईबीको टोलीले प्रभु बैंकको बिजुलीबजार (काठमाडौँ) स्थित केन्द्रीय कार्यालयमा छापा मारी महत्वपूर्ण कागजात र अभिलेख नियन्त्रणमा लिएको थियो ।
सीईओ शेरचनलाई पनि सोही कर्जा प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको सीआईबीले जनाएको छ । अनुसन्धान जारी रहेको र थप व्यक्तिहरूमाथि पनि छानबिन भइरहेको ब्यूरोले बताएको छ ।










प्रतिक्रिया