ललितपुरमा ट्राफिक चेकिङ स्थलमा दुर्घटना: १६ वर्षीया युवतीको मृत्यु

ललितपुर महानगरपालिका–१५, चक्रपथस्थित बीएण्डबी अस्पताल नजिकै शुक्रबार ट्राफिक प्रहरीले गरेको स्पीड चेकिङका क्रममा दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

Advertisement

प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल अत्यधिक तीव्र गतिमा (९९ किमी प्रति घण्टा) रहेको हुँदा ट्राफिक प्रहरीले राडार गनको संकेत दिएर रोक्न खोजेको थियो। तर, मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किँदा दुर्घटना भएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए।

मोटरसाइकलमा सवार तनहुँको भिमाद नगरपालिका–५ घर भई पेप्सीकोलामा बस्दै आएकी १६ वर्षीया स्नेहा बस्याल गम्भीर घाइते भई बीएण्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–४ निवासी २८ वर्षीय प्रत्युस थापा गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेकाले बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, दुर्घटनामा ट्राफिकका सहायक हवलदार जनक सिंह भाट पनि घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री