तलव नपाएको भन्दै सिबिएमका शिक्षकहरु आन्दोलित
चारखाल, डिल्लीबजारस्थित कलेज अफ बिजनेस म्यानेजमेन्ट (सिबिएम) मा पाँच/छ वर्षदेखि विभिन्न विषय अध्यापन गर्दै आएका शिक्षकहरू तलव नपाउँदा आन्दोलित बनेका छन् ।
उनीहरूले आफ्नो माग समेटिएको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफुहरु पीडित भएको र श्रम शोषणमा परेको विषयमा चासो दिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
शिक्षकहरूले कलेज प्रशासन र प्रिन्सिपल सुमन न्यौपानेमाथि लामो समयदेखि उनीहरूको पारिश्रमिक रोकेको र तलब समयमा नदिएको आरोप लगाएका छन्। ६-७ महिनाको पारिश्रमिक बाँकी रहेको र सोधपुछ गर्दा पनि कलेज प्रशासनले बेवास्ता गर्दै आएको गुनासो गरिएको छ। तलब नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेका छन् भने कक्षा व्यवस्थापनमा लापरबाही हुँदा विद्यार्थीहरूको शिक्षा प्रभावित भएको उनीहरूको भनाइ छ।
स्नातक तहमा व्यवस्थापन, लेखा, र अन्य विषय अध्यापन गर्ने शिक्षकहरूले शिक्षा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिक समेत नपाएको बताएका छन्। कलेजले तलब दिनुका सट्टा कक्षा घटाउने, शिक्षकहरूलाई कामबाट हटाउने, र उनीहरूको योगदानको बेवास्ता गर्दै आएको उनीहरूको गुनासो छ।
शिक्षकहरूले आफ्नो नियमित पारिश्रमिक र सुविधाहरू उपलब्ध गराउन जोडदार माग गरेका छन्। उनीहरूले कलेज प्रशासनसँग तत्काल समस्या समाधान गर्न आग्रह गर्दै, शिक्षा मन्त्रालय र नेपाल सरकारलाई पनि चासो दिन अपिल गरेका छन्।
सिबिएम पीडित शिक्षक संघर्ष समितिका अध्यक्ष महेन्द्रबहादुर क्षेत्री, सचिव शंकरलाल देवकोटा, र अन्य पदाधिकारीहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा शिक्षकहरूको शैक्षिक योगदानको सम्मान गर्दै समस्या समाधान नगरे थप कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ।
प्रतिक्रिया