हिमालयन रि इन्स्योरेन्सको खुद नाफा २९.२२ प्रतिशतले वृद्धि
हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार, कम्पनीले यो त्रैमासमा २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत र कुल आम्दानी २२.८० प्रतिशतले बढेको छ। यद्यपि, यसै अवधिमा कम्पनीको कुल दाबी भुक्तानी १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशतले वृद्धि भएको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) भने घटेर ८ रुपैयाँ ७१ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ रुपैयाँ ३० पैसा कम हो। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) १०३.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ, र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ, जसले कम्पनीको वित्तीय अवस्थालाई थप सुदृढ बनाएको छ।
प्रतिक्रिया