एलआईसी नेपालको रेटिङ अपग्रेड, अब वित्तीय रुपमा अझ सबल
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को रेटिङ बढेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले एलआईसी नेपालको रेटिङ सुधार्दै ‘ए’ बाट ‘ए प्लस’ कायम गरेको छ। यो उच्च रेटिङले कम्पनीको वित्तीय स्थिति सबल रहेको र जोखिम बहन क्षमतामा वृद्धि भएको संकेत गर्दछ।
इक्राले अक्टोबर ३० मा एलआईसी नेपाललाई पत्र पठाउँदै रेटिङ सुधारको जानकारी गराएको थियो। यसअघि, हकप्रद शेयर निष्कासनका बेला एलआईसी नेपालले इक्रा एनपी आइआर ‘ए’ रेटिङ प्राप्त गरेको थियो, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई सुरक्षित रहेको दर्शाउँछ।
एलआईसी नेपालले हाल १ः०.८८४५ अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्दैछ। कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशतको आधारमा कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको छ।
यसका लागि कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरेको थियो, जसअनुसार कात्तिक ८ गतेसम्म कायम रहेका शेयरधनीहरूमात्रै यो हकप्रद शेयर भर्न योग्य हुनेछन्। हकप्रद शेयर बिक्रीको प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।
ए प्लस रेटिङ पाएको एलआईसी नेपाल अब वित्तीय रुपमा अझ सबल मानिएको छ।
प्रतिक्रिया