रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक, बिहानैदेखि भक्तजनको भिड
तिहारको मुख्य दिन अर्थात् यमपञ्चकको अन्तिम दिन आज रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने भक्तजनको बिहानैदेखि घुँइचो लागेको छ।
दिदीबहिनी नहुनेहरूका लागि यो मन्दिर प्रत्येक वर्ष तिहारको भाइटीकाको दिन विशेष रूपमा खुला गरिन्छ।
आज बिहान ११:३९ बजेको शुभ साइतअघि नै मन्दिर परिसरमा भाइटीका लगाउन आउनेहरूको भीड बढेको छ। दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले यस मन्दिरमा पूजा, दर्शन र टीका लगाउने परम्परा रही आएको छ। विशेषगरी काम विशेषले काठमाडौँमा बस्ने र आफ्ना दिदीबहिनी नभएकाहरू यहाँ टीका लगाउन आउने गरेका छन्।
मन्दिरमा बिहानैदेखि पूजाआजा र टीकाको कार्य शुरू भएको छ। यहाँ टीका लगाउन आउनेमा नेपाली मात्र नभई विदेशी नागरिकहरू पनि सहभागी भएका छन्। विदेशी पर्यटकहरूले समेत नेपाली संस्कृतिको यो अनुपम परम्परामा रमाउँदै भाइटीका लगाएको दृश्यले मन्दिर परिसरको रौनक थप बढाएको छ।
बालगोपालेश्वर मन्दिर तिहारको समयमा विशेष महत्त्व बोकेको स्थल हो। यहाँको धार्मिक र सांस्कृतिक महत्वले गर्दा प्रत्येक वर्ष यो दिन भक्तजनको ठूलो भीड लाग्ने गरेको छ। मन्दिर व्यवस्थापनले भक्तजनको सुविधाका लागि आवश्यक प्रबन्ध गरेको जनाएको छ।
प्रतिक्रिया