बिहीबार, १३ वैशाख २०८१

सार्क हस्तकला विकास केन्द्र स्थापनाको अन्तिम तयारी

समयपोष्ट २०७३ मंसिर १३ गते ३:४८

सार्कस्तरीय हस्तकला विकास केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंमा स्थापना गर्न लागिएको केन्द्रका लागि सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेपछि काम अघि बढेको नेपाल हस्तकला महासंघले जनाएको छ ।

Advertisement

सरकारले हस्तकला विकास केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माण गर्न आवश्यक छलफल भइरहेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए । “केन्द्रको हब बनाउन घरेलु तथा साना उद्योग विभागकै परिसरमा २ रोपनी १५ आना जग्गा सरकारले उपलब्ध गराएको छ,” उनले भने, “सुविधासम्पन्न भवन बनाउन सार्क सचिवालयसँग सहकार्य गर्दैै छौं ।” उनले यसै महिनाभित्र भवनको शिलान्यास गर्ने तयारी भइरहेको जानकारी दिए । 

त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग विभाग परिसरमा बन्ने केन्द्रको कुल लगानी २१ करोड रुपैयाँ हुनेछ । यसमा लाग्ने ९० प्रतिशत लगानी सार्क सचिवालयले र बाँकी नेपाल सरकार तथा नेपाल हस्तकला महासंघले गर्ने सम्झौता भएको छ । 

महासंघका अध्यक्ष शाक्यका अनुसार जग्गाको स्वामित्व सरकारको हुने भए पनि स्वामित्वमार्फत विभागलाई दिने भाडाका बारेमा भने टुंगो लागेको छैन । सार्क सचिवालयले सदस्य राष्ट्रका हस्तकलाको विकास गर्ने उद्देश्यले अन्तरराष्ट्रिय सार्क हस्तकला विकास केन्द्र स्थापना गर्न लागेको हो । महासंघका अध्यक्ष शाक्यले सार्कस्तरीय हस्तकला डिजाइन सेन्टरको स्थापनाले नेपाली हस्तकलाका सामानको प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए । 

सार्वजनिक निजी साझेदारीबाटै केन्द्र स्थापना गर्न लागिएको भन्दै उनले यसका लागि छिटोभन्दा छिटो काम सम्पन्न गर्न महासंघ प्रयासरत रहेको जानकारी दिए  । नेपाली हस्तकलाका सामानको माग बढी भएकाले निर्यात बढाउने खालका कार्यक्रमहरू ल्याउनु अनिवार्य रहेको भन्दै सरकारले ३ वर्षअघि हस्तकला डिजाइन सेन्टर स्थापना गर्ने घोषणा गरेको थियो ।

हस्तकला विकास केन्द्रको स्थापनापछि नेपाली कला र सिपको प्रवद्र्धन हुने र  नेपालीवस्तु आन्तरिक तथा बाह्य बजारमा प्रतिस्पर्धी हुने अपेक्षा सरकारको छ । वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाली उत्पादनको आन्तरिक बजार प्रवद्र्धन तथा निर्यात अभिवृद्धिका लागि एकीकृत पहल आवश्यक रहेको बताए । “सार्कस्तरीय हस्तकला ग्रामको निर्माण अन्तिम चरणमा पुगेको छ,” उनले भने “यो निर्माण भएलगत्तै हाम्रा वस्तुको बजार प्रवद्र्धनमा सघाउ पुग्नेछ ।”

आजको कारोबार दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री