मंगलबार, ११ वैशाख २०८१

एमालेका उपाध्यक्ष भिम रावलले गृहमन्त्री निधिलाई भने ‘राजिनामा दिएर घर गए हुन्छ’ 

समयपोष्ट २०७३ मंसिर १२ गते १०:०९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाईन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरु बसेर नयाँ दिल्लीमा बसेर गरेको आरोप लगाएका छन् । 
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै यसको डिजाईन नेपालमा नभएर भारतमा भएको आरोप लगाएका हुन् । उनले अघि थपे,‘यो सरकार लेण्डुप दोर्जेको पदमा हिँड्न खोेजेको छ, सम्पूर्ण देशभक्त नेपालीहरुले यसको विरोध गर्नुपर्छ ।’
रावलले संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको बताउँदै भने,‘मरेर गाडी सकेको लाशलाई झिकेर दुर्गन्ध फैलाउने काम यो सरकारले गर्न खोजेको छ, नेकपा एमालेले यस्तो कदापि हुन दिँदैन् ।’ 
उनले संविधान संशोधनको प्रस्ताव वर्तमान सरकारले आफ्नो विवेकले भन्दापनि विदेशीको दिमागले गर्न खोजेको आरोप लगाए । उनले प्रदेशको सिमांकनको विवाद समाधानको नाममा  ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कार्य कुनै हालतमा स्विकार्य नभएको जिकिर गरे । रावलले थपे,‘तराई र पहाडलाई छुट्याउनको लागि संविधान संशोधन किन ?’
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक अन्र्तवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएको कडा आक्रोश पोख्दै थपे,‘महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो हाँस्सयपद कुरा गर्न लाज लाग्दैन ।’ 
उनले उपप्रधानमन्त्री निधिले आफ्नो संयम गुमाएर बोलेको भन्दै यथाशिघ्र पदबाट राजिनामा दिएर घर जान चेतावनी दिए । राववले थपे,‘जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाईसकेको हो, अब लेण्डुप पथमा नगई हुँदै हुँदैन भन्ने हो भने पद छोडेर घरतिर गए हुन्छ ।’
उनले एमालेले चीनसँगको तातोपानी नाका खोल्छु भन्दा यस्तो आरोप लगाउने कदापि राष्ट्रवादी हुन नसक्ने ठोकुवा गरे । देश र जनताको पक्षमा बोल्न नपाउने हो भने यो देशलाई लेण्डुप दोर्जेको पथमा हिडाउन खोज्नु भएको रावलको आरोप थियो । 
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकालाई चुनाव गरेर देखाउन चूनौति दिएका छन् । रावलले थपे,‘यो सरकारले चुनावको खाका कहाँ ल्यायो ? चुनावमा जाऔं, परिक्षा गरौं न ? चुनावबाट किन भाग्न खोजेको ?’
उनले वर्तमान सरकारले १२५ जातजातिहरुमा फाटो लगाउने गरि संशोधन प्रस्ताव अघि सार्न खोेजेको भन्दै यस्तो सोच्नुपर्ने मुर्खतापूर्ण भएको टिप्पणी गरे । उपाध्यक्ष रावलले अहिलेको सरकारले दुईवटा राष्ट्रियताको कुरा गरेकोमा कडा आपत्ति जनाए । 
उनले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा नेपाल र भारत सरकारले जारी गरेको संयुक्त विज्ञप्तीले पनि यो संविधान कसको ईशारामा संशोधन हुँदैछ भन्ने कुरा राम्रो संकेत गर्ने स्पष्ट पारे । रावलले नेपाल र नेपाली जनताको हित विपरित आउने संविधान संशोधन प्रस्तावका एमालेले सशक्त विरोध गर्ने समेत कडा चेतावनी दिए । 
रावलले अघि थपे,‘तराईका ९९ प्रतिशत जनता देशभक्त छन्, माया नगर्ने भनेको एक प्रतिशत मात्रै छन् ती पनि नेताहरु हुन् ।’ उनले वर्तमान सरकारले संविधान संशोधनको नाममा दुई तिहाई पु¥याउनको लागि अन्य पार्टीका नेताहरुलाई उपप्रधानमन्त्री पद दिन्छु भन्नु र पैसा दिन्छु भन्नेले पनि सरकारको कदमबारे राम्रो जानकारी हुने दाबी गरे । 
रावलले संविधानको व्यवस्था अनुसार प्रदेशको सिमांकन अहिले कुनै हालतमा हुन नसक्ने दाबी गरे । रावलले थपे,‘संविधानको धारा २७४ को उपधारा ४ मा प्रष्ट व्यवस्था गरिएको छ, यो धारा राम्रोसँग पढेहुन्छ ।’ उनले संविधानमा बाधा भए बाधा हुने धाराहरु नै परिवर्तन गर्ने कुरा चलेको पनि आफूहरुले सुनेको बताउँदै भने,‘संविधान भनेको घरको चिठ्ठी लेखेको हो र ?’ 
उनले यस्तो अभिव्यक्ति दिनु भनेको तानाशाहको मृत्त आत्मा बोल्नु भएको टिप्पणी गरे । उनले अहिले संविधान संशोधनको कुरा गर्नु भनेको बेमौसमको बाजा बजाउनु भएको समेत गुनासो पोखे । ‘मुलुकलाई संवैधानिक रित्ततामा धकेल्न खोज्ने अनि द्धन्द्धबाट नअघाउनेहरुले यस्तो षडयन्त्र गरिरहेका छन्, उनले थपे ।’ उनले संशोधन प्रस्ताव संसदबाटै पारित नहुने समेत ठोकुवा गरे । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री