शुक्रबार, १६ चैत २०८०

जात्राकी नायिका वर्षा राउत भन्छिन् ‘ कागजजस्तो ह्वार्र बलेर निभ्न चाहन्न’

समयपोष्ट २०७३ मंसिर १० गते ९:१९

चलचित्र नाईं नभन्नु ल ४ बाट रजतपटमा प्रवेश गरेकी नायिका वर्षा राउत चलचित्र छक्का पञ्जामार्फत दर्शक तथा चलचित्रकर्मीको मन जित्न सफल भइन् । उनी अभिनीत यी दुवै चलचित्रले दर्शकको मन जित्न सफल भएसँगै निर्माताको लगानी पनि सुनिश्चित गरिदिए । छक्का पञ्जाले त नेपाली चलचित्रले कायम गरेका अधिकांश रेकर्ड नै ब्रेक गरिदियो । अहिले उनै वर्षा अभिनीत चलचित्र जात्रा प्रदर्शनक्रममा छ । चलचित्र जात्राको सार्वजनिक टेलर र प्रचार सामग्रीमार्फत नै दर्शकको प्रतीक्षामा पर्न सफल भएको छ । उनै वर्षासँग चलचित्र जात्रा र उनको सिने करिअरबारे  राजु लामिछानेले गर्नुभएको कुराकानी :
तपाईं अभिनीत चलचित्र जात्रा प्रदर्शनको क्रममा रहेको छ । प्रचार प्रसारको क्रममा र प्रचार सामग्रीबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
चलचित्रप्रति दर्शकको अपेक्षा राम्रो रहेको पाएको छु । मेरा अघिल्ला दुई चलचित्र नाईं नभन्नु ल ४ र छक्का पञ्जाले पनि दर्शकको राम्रो प्रतिक्रिया पायो । ती चलचित्र हेर्ने दर्शकले पनि यो चलचित्र पनि उस्तै राम्रो होला भन्ने अपेक्षा त हुने नै भइहाल्यो । चलचित्रको सार्वजनिक टेलरलाई पनि दर्शकले अत्यधिक मन पराउनुभएको छ । टेलरमा कसैले पनि नराम्रो प्रतिक्रिया दिनुभएको छैन । विशेष शोमा चलचित्र हेर्नुहुने चलचित्रकर्मी तथा पत्रकारले पनि निकै रुचाउनुभयो । यी सबै गतिविधिलाई हेर्दा चलचित्रले राम्रो दर्शकको साथ पाउँछ जस्तो लाग्छ । 

Advertisement


barsha-raut-1

चलचिप्रति दर्शकको अपेक्षा बढेको कुरा गर्नुभयो । चलचित्रले दर्शकको अपेक्षा पूरा गर्ला त ? तपाईं स्वयम्लाई चलचित्र कस्तो लागेको छ ?
मैले पनि गत बुधवारको विशेष शोमा चलचित्र हेरेको थिए । म आफैंलाई पनि चलचित्र एकदम राम्रो लाग्यो । मैले आफ्नो चलचित्र भए पनि चलचित्र हेर्दा एक दर्शकका रूपमा हेरेको थिए । स्क्रिप्ट र काम गराइको हिसाबले मैले चलचित्रप्रति जुन अपेक्षा गरेको थियो । त्यो अपेक्षाभन्दा धेरै माथि पाएँ चलचित्र । मलाई विश्वास छ– चलचित्र जात्रा हेरिसकेपछि दर्शकले पनि आफूले अपेक्षा गरेभन्दा माथि नै पाउनुहुनेछ चलचित्रलाई । 
दर्शकका रूपमा चलचित्र हेर्दा आफ्ना केही कमीकमजोरी पनि देख्नुभयो कि ?
कुनै–कुनै पार्टमा चुकेको आभास भयो । डबिङको क्रममा पनि रुघाका कारण स्वरमा दम आएको थिएन । कुनै–कुनै सिनमा यस्तो गर्नु पाएको भए अझ राम्रो हुन्थ्यो होला कि भन्ने त लागिहाल्ने रहेछ । तर, खत्तमै भएछ भन्ने त कुनै पनि सिनमा लागेको छैन । 
तपाईंले तीनवटै चलचित्रमा राम्रो ब्यानर र अग्रज सिनेकर्मीका साथ काम गर्ने अवसर पाउनुभयो । अग्रज सिनेकर्मीसँग काम गर्दाको राम्रा नराम्रा अनुभव सुनाइदिनु न ?
अग्रज कलाकारसँग काम गर्न पाउँदा नराम्रो भन्ने त केही पनि भएन । राम्रै राम्रो भयो । नाईं नभन्नु ल गर्दा विकास आचार्य दाइले चलचित्रबारे निकै राम्रोसँग बुझाएर काम गराउनुभयो । चलचित्रमा सरोज खनाल र प्रियंका कार्कीसँग काम गर्न पाउँदा धेरै सिक्ने अवसर पनि पाएँ मैले । साथै छक्का पञ्जामा पनि सबै सिनियर कलाकारसँग काम गर्ने अवसर पाए । दीपकराज गिरी, दीपाश्री निरौलालगायत सफल हास्यकलाकारसँग काम गर्दा पनि धेरै सिक्ने अवसर पाएँ । जात्रामा आउँदा थियटरको टिमसँग काम गर्ने अवसर पाएँ । यो टिमबाट त झन् धेरै सिक्ने अवसर मिल्यो । अभिनयलाई वास्तविकतासँग नजिक रहेर गर्न सक्नुपर्छ भन्ने कुरा जात्रा टिमबाट सिके । यस्तो अवसर कमै मात्र कलाकारले पाउँछन् जस्तो लाग्छ । 
जात्रा टिमसँग कामको अफर आएको बेला र स्क्रिप्ट पढ्दा तपाईंले चलचित्र यस्तो बन्ला भन्ने जुन कल्पना गर्नुभएको थियो चलचित्र हेर्दा त्यहीअनुसार पाउनुभयो कि फरक ?
barsha-raut-2बिल्कुलै फरक पाएँ । पशुपतिप्रसाद हेरेदेखि नै यो टिमसँग मलाई काम गर्ने एकदम चाहना थियो । त्यही टिमबाट कामका लागि अफर आउँदा टिम राम्रो छ । चलचित्र पक्कै पनि छ्या भन्नेखालको हुँदैन भन्ने मलाई लागेको थियो । स्क्रिप्ट पढ्दा पनि चलचित्र राम्रै हुनेमा ढुक्क थिए । तर, पर्दामा चलचित्र हेर्दा त राम्रो मात्र होइन धेरै नै राम्रो पाए । चलचित्र हेरेर घर पुगेपछि मैले फेरि स्क्रिप्ट पढ्न थाले । चलचित्र असनमा रहेका तीन व्यापारीको कथा भन्छ । ती तीनजनामध्ये एकजनाको भूमिकामा रवीन्द्र झा हुनुहुन्छ । चलचित्रमा मलाई उहाँको भूमिका एकदमै मन परेको छ । अहिले रवीन्द्र झाले गरेको भूमिका पहिला अरूले नै गर्ने कुरा भएको थियो । तर, चलचित्र छायांकनमा जानुभन्दा एक दिन अघि मात्र त्यो भूमिकाको लागि रवीन्द्र दाइले गर्ने निर्णय गरिएको थियो । एकै दिनमा उहाँ यसरी क्यारेक्टरमा भिज्नुभयो कि म त उहाँको कामबाट निकै प्रभावित भएँ । चलचित्र हेर्ने दर्शकले पनि उहाँलाई निकै रुचाउनेछन् जस्तो लाग्छ मलाई । 
तपाईंको पहिलो म्युजिक भिडियो कुन हो ? पहिलो भिडियो गर्दाको अनुभव सेयर गर्दिनु न ?
मेरो पहिलो म्युजिक भिडियो रिलिज नै भएन । मनोज राजको पानीको फोका सरी भन्ने गीत थियो त्यो । पछि सिर्जना कार्कीको रोजेको मैले भन्ने गीतको भिडियो नै मेरो सार्वजनिक भएको पहिलो भिडियो हो । त्यो भिडियो गर्दाको अनुभव भन्नुपर्दा एकदमै लाज लागिरहेको थियो । पहिलो सर्ट नै धेरै मान्छेको भीड रहेको ठाउँमा गर्नुपर्ने थियो । मनमनै त त्यहाँबाट भागुँजस्तो भएको थियो । भिडियो गर्न सक्दिनँ क्यारे जस्तो भएको थियो । फेरि आफ्नो मनलाई बुझाएँ, कुरा यति अगाडि बढिसक्यो जसरी पनि गर्नुपर्छ भन्ने लग्यो । पछि काम गर्दै जाँदा सजिलै भयो । 
तपाईंको विचारमा सेक्स के हो ? यसको अनुभव छ कि छैन ?
यस्तो पनि सुनाउनुपर्छ र भन्या ? यो त नेचुरल कुरा हो जस्तो लाग्छ मलाई । जन्म, मृत्यु, सेक्स सबै माथिकै देन हो जस्तो लाग्छ । यसबारे यत्ति नै भनौं होला ।
तपाईंको मुख्य भूमिका रहेको चलचित्र कहिले हेर्न पाइएला ?, चलचित्र हिट भए पनि तपाईं सोचेजस्तो हिट किन हुन सक्नुभएन ? र, तपाईं पनि कार्यक्रमको बाहाना बनाएर अमेरिकातिर पलायन हुनुहुन्छ कि ? barsha-4
नाईं नभन्नु ल ४ मा मेरो नै मुख्य भूमिका नै थियो । त्यो चलचित्रबाट त्यति चर्चा पाउन सकिनँ मैले । तर, चलचित्र राम्रै चल्यो । छक्का पञ्जामा छोटो रोल भए पनि दर्शकले निकै रुचाउनुभयो मेरो भूमिका । मुख्य भूमिकामा भएमात्र चर्चामा आउने भन्ने हुँदैन जस्तो लाग्छ मलाई । जहाँसम्म चर्चामा आउनुभएन भन्ने कुरा छ, चर्चा भन्ने कुरा बिस्तारै–बिस्तारै हुने हो । १०,१२ वर्ष यो क्षेत्रमा काम गर्नुभएका कलाकार त अहिलेसम्म चर्चामा आउन सक्नुभएको छैन । म त यो क्षेत्रमा लागेको भर्खरै २ वर्ष पूरा भएको छ । एकैचोटि चर्चामा आएर सेलाउनुभन्दा बिस्तारै–बिस्तारै चर्चामा आउनु नै राम्रो हुन्छ । म कागजजस्तो एकैछिन ह्वार्र बलेर निभ्न चाहन्न । बिस्तारै–बिस्तारै बलिरहन चाहन्छु । 
अमेरिका पलायनको कुरामा म के भन्न चाहन्छु भने मैले चलचित्रसँगै अन्य पेसालाई पनि अगाडि बढाएको छु । मेरो होम डेकोरसम्बन्धी व्यवसाय पनि छ । त्यसैले मलाई अमेरिका गएर अरूको काम गनुपर्छ जस्तो लाग्दैन । मलाई थाहा थियो चलचित्र क्षेत्रमा मात्र लागेर सेटल हुन गाह्रो छ भनेर । त्यसैले मैले यो क्षेत्रमा प्रवेश गर्दैगर्दा अन्य पेसालाई पनि अगाडि बढाइरहेको छु ।  मेरो फिगरको कुरा गर्दा मलाई थाइराइड भएकाले पनि अल्लि मोटाएकी थिएँ । अहिले त्यसको औषधि पनि खाइरहेकी छु, साथै वजन घटाउन बिहान–बिहान दौडने पनि गरेको छु, फिगरप्रति सचेत हुँदै छु । 
अन्त्यमा जात्रा चलचित्र दर्शकले किन हेर्नुपर्छ ?
जात्रा हास्यप्रधान भए पनि पारिवारिक चलचित्र हो । यसमा पैसाको जात्रादेखि लिएर साथीभाइबीचको जात्रा समावेश छ । चलचित्र हेर्ने दर्शकले कहीं न कहीं चलचित्रभित्र आफूलाई नै पाउनुहुन्छ । चलचित्रमा हाँसोमात्र होइन, रोदन पनि समावेश छ । चलचित्रले समय र पैसाको दुरुपयोग हुन दिँदैन । त्यसैले दर्शकलाई यो चलचित्र हेरेर हाम्रो कामको बारेमा राम्रो नराम्रो प्रतिक्रिया दिनुहुन म अनुरोध गर्छु । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री