बुधबार, ३२ असार २०८२

बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमा

समयपोष्ट २०८० मंसिर १४ गते १४:०१

Advertisement

कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिनेभएकोे छ । टीकापुर –२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो ।

टीकापुर –२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बडघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा आवद्ध गर्न थालिएको जानकारी दिनुभयो । उहाँले वडाका हरेक काममा चिराकीको ठूलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बडघर, चिराकी र गुरुवालाई बीमा गरिदिन थालेको बताउनुभयो । “वर्षौँदेखि समुदायको हितमा काम गरिरहनुभएका तपाईँहरूको स्वास्थ्य ठूलो कुरा हो”, उहाँले भन्नुभयो, “बिरामी पर्दा तपाईँ र तपाईँको परिवारलाई सहज होस् भनी स्वास्थ्य बीमामा सघाएका छौँ ।”

यसरी सामाजिक सेवा गरिरहेका बडघर, चिराकी र गुरुवाको आम्दानीको स्रोत नभएकाले उपचारमा वडाको ८० प्रतिशत र उनीहरूको २० प्रतिशत खर्चमा बीमा गरिएको हो । स्वास्थ्य बीमाका लागि पाँच जनाको परिवारका लागि रु तीन हजार पाँच सय शुल्क तिनुपर्छ । वडाले रु दुई हजार आठ सय र सात सय बिमित स्वयंले तिरेर बीमा गरिएको छ ।

स्वास्थ्य बीमामा आबद्ध भए वर्षमा रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाइन्छ । वडाले बीमा गरिदिएपछि चिराकी जीतबहादुर परियार निकै खुसी हुनुभएको छ । अठार वर्षदेखि चिराकी भएर गाउँको सेवा गरिरहनुभएका परियार सरकारले आफूलाई पनि सम्झेकामा थप हौसला बढेको बताउनुहुन्छ । “वर्षौँदेखि सामाजिक सेवा गरौँ भनी काम गरिहेका छौँ”, परियार भन्नुहुन्छ, “वडाले कागजपत्र ल्याउनु बीमा गरिदिन्छौँ भनेपछि निकै खुसी लाग्यो । अब पाँच जनाको परिवारले नै टीकापुर र अन्य जिल्लाका अस्पतालमा पनि उपचार सेवा पाउने रहेछौँ ।”

Advertisement

तीस वर्षभन्दा बढी समयदेखि बडघरको जिम्मेवारी सम्हालिरहनुभएका बन्दीपुरका बडघर श्यामलाल डगौरा आफूहरूलाई साइकल, मोबाइल दिनुभन्दा बीमा गरिदिँदा धेरै राहत हुने बताउनुुहुन्छ । वडाले आफूमात्र नभई आफूहरूको परिवारको स्वास्थ्यमा समेत ध्यान दिएको उहाँको भनाइ छ ।

बडघर, गुरुवा तथा चिराकीले स्थानीय सरकारले आफूहरूको क्षमता विकाससँगै अन्य सेवा सुविधासमेत दिनुपर्ने माग गर्दै आएका छन् । समुदायमा अगुवाका रूपमा काम गरिरहेका बडघरका समस्यामा सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय स्थानीय सरकारले यसरी समुदायमा सेवा गर्ने बडघर, चिराकीलाई सहजताका लागि मोबाइल, साइकल, हातेमाइकजस्ता सामग्री सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री