सोमबार, २१ असोज २०८१

प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन, ६२ करोड रुपैयाँ बक्यौता

समयपोष्ट २०८० कार्तिक २५ गते १३:२०

Advertisement

नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ। गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको हो। लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ।

असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता बढ्दै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन्।

यसअवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ। मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरुले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन्। उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको प्रधिकरणले जनाएको छ।

कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरुले ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन्। उक्त ग्राहकहरुको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ छ।

Advertisement

लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगञ्ज मातहतका वितरण केन्द्रहरुले ४ हजार १८ ग्राहकको लाइन काटेका छन्। त्यहाँको बक्यौता ३ करोड ८५ लाख रुपैयाँ छ। लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरुले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन्। त्यहाँ बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ।

वाग्मती प्रादेशिक कार्यालय, काठमाडौं मातहतको वितरण केन्द्रहरुले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ। वाग्मती प्रदेश डिभिजनल कार्यालय, हेटौंडा मातहतका वितरण केन्द्रहरुले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराले २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ। बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ।सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरुले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ।

कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरुले ६ सय २४ ग्राहको लाइन काटेका छन्। बक्यौता रकम ९१ लाख रुपैयाँ छ।

प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने जनाएको छ। विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६ देखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ। मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री