कर्मचारीले अवलम्बन गर्नेपर्ने पाँच गुण
चूडामणि शर्मा
मानव जीवनका लागि आवश्यक पर्ने गुणलाई स्मरण सहजताका लागि अंग्रेजी वर्ण A देखि Z सम्मका सबै वर्णमा आधारित भई "A to Z Qualities" नामक Phrase का रूपमा प्रयोग हुने भए पनि मुख्य पाँच गुण जानकारी होस् भन्नका लागि A, B, C, D र E को संक्षेपमा व्याख्यासमेत गर्न चाहन्छु, जुन कर्मचारीमात्र नभई सबैमा उत्तिकै महत्वपूर्ण रहेको छ ।
१. सकारात्मक सोच (A- Positive Attitude)
समग्र कार्य तथा व्यवहारको जननी नै सोच हो । जस्तो सोच हुन्छ, त्यस्तै खोज, सोहीअनुसारको भोग हुन्छ । सोचबाट विचार, विचारबाट शब्द तथा अभिव्यक्ति, शब्द तथा अभिव्यक्तिबाट कर्म तथा क्रिया, कर्म तथा क्रियाबाट बानी, व्यवहार एवम् संस्कार र बानी व्यवहार एवम् संस्कारबाट चरित्र निर्माण हुन्छ । चरित्रबाटै जीवनको सार्थकता झल्किन्छ । हाम्रो मस्तिष्क विचारको कारखाना हो । उक्त कारखानारूपी मस्तिष्कमा राम्रा तथा नराम्रा विचारको जन्म हुन्छ । राम्रा विचारअनुरूपको बानी र परिणाम राम्रै हुन्छ भने नराम्रो विचारअनुरूपको व्यवहार, बानी र परिणाम पनि नराम्रो हुन्छ । हाम्रो सोच, विचारजस्तो छ, त्यस्तो अभिव्यक्ति हुन्छ र हामी त्यस्तै हुन्छौं । हाम्रा विचारले जस्तो बनाउँछ, हाम्रो जीवन त्यस्तै हुन्छ । हामीले सुख, सन्तुष्ट, सफल र सार्थक जीवनको अपेक्षा गर्ने हो भने त्यहीअनुसारको सकारात्मक सोच बनाउनुपर्छ । सोच भनेको बीज (बीउ) हो । जस्तो बीउ रोप्यो, त्यस्तै फल मिल्छ, जे रोप्यो त्यसकै फल मिल्छ । विष रोपेर अमृत त फल्दैन । तुच्छ सोच्यो परिणाम तुच्छ नै हुन्छ । उच्च सोच राख्यो, परिणाम उच्च हासिल हुन्छ, त्यसैले सफल हुन चाहनेले जहिले पनि सकारात्मक र समृद्ध सोच राख्नु जरुरी हुन्छ । कुनै पनि कार्यको सुरुवात बिन्दु सोच तथा संकल्प नै हो । उपयुक्त एवम् सकारात्मक संकल्पलाई साकार तुल्याउन त्यही अनुसार विकल्प विकास गरिन्छ र विश्लेषण गरिन्छ । तत्पश्चात् उपयुक्त एवम् आदर्शतम् विकल्प छनोट गरी सोको प्रभावकारी कार्यान्वयन अर्थात् “कल्प” (दिगोपनासहितको कार्यान्वयन) गरिन्छ र त्यसमा समसामयिक सुधार गर्दै निर्दिष्ट कालखण्डपछि आमूल परिवर्तन गरिन्छ । यथार्थमा व्यवस्थापन एवम् परिवर्तन तथा सुधारको चक्र “संकल्प–विकल्प–निर्विकल्प–कल्प–कायाकल्प” लाई भनिन्छ । त्यसैले सफल व्यवस्थापनको पहिलो जिम्मेवारी सकारात्मक तथा समृद्ध संकल्प नै हो ।
कुनै पनि व्यक्तिको व्यक्तित्व उसको सोच विचार र व्यवहारबाट निर्देशित हुन्छ । जीवनको सबैभन्दा महत्वपूर्ण एवम् ठूलो कुरा नै दृष्टिकोण हो । हाम्रो आफ्नो भाग्य निर्माता हामी आफैं हौं । त्यो कुरा हाम्रो दृष्टिकोण तथा सोचमा भर पर्छ । यदि हामीले राम्रा कुरा सोच्यौं भने हामी खुसी हुनेछौं । यदि हामीले खराब कुरा सोच्यौं भने हाम्रो अबस्था पनि खराब हुनेछ र हामी दुःखी हुनेछौं । यदि हाम्रा विचार डरलाग्दा छन् भने हामी आफंै आशंकित हुनेछांै । हामीले सकारात्मक सोच राख्छौं भने दुर्बलतालाई सबलतामा र चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छांै । सकारात्मक सोचद्वारा नै फोहोरलाई मोहर बनाउन सकिन्छ । व्यक्ति, विषय, परिस्थिति, सन्दर्भ त उही हुन्छ, व्यक्तिको सोचअनुसार त्यो अनुकूल र प्रतिकूल हुने हो । यसर्थ, सार्थक जीवन एवम् सफल जीवनको अपेक्षा गर्नेले सदा आफूप्रति, अरूप्रति र सबैप्रति सकारात्मक सोच राख्नु अपरिहार्य हुन्छ ।
२. मैत्रीपूर्ण व्यवहार ( B -Friendly Behaviour)
सकारात्मक सोच राख्दैमा सफल हुने होइन । सोचअनुसारको व्यवहार तथा अभ्यास हुनु जरुरी हुन्छ । जोसँग जुन व्यवहार गर्नुपर्ने हो, जस्तो व्यवहार गर्दा राम्रो हुन्छ, त्यस्तै व्यवहार गर्नु आवश्यक हुन्छ । सत्य, मीठो र स्पष्ट बोली वचन र व्यवहारले व्यक्तिको गरिमा एवम् घनत्व अभिवृद्धि गराउनमा सहयोग गर्छ । आफ्नो आहार, विहार र संस्कारमा अनुकूल व्यवहार अवलम्वन गर्नुपर्छ । संसार भक्ति र प्रेममा अडेको छ । आफूभन्दा मुनि तथा मातहतका व्यक्ति एवम् पदाधिकारीलाई माया एवम् प्रेम र आफूभन्दा माथिका व्यक्ति एवम् पदाधिकारीप्रति मानसम्मानको व्यवहारले नै परिवार, संगठन तथा समाजमा अनुशासन अभिवृद्धि हुन्छ । प्रत्येक व्यक्तिले सम्मानित जीवन जिउन चाहन्छन् । अरूबाट सम्मान चाहनेले सर्वप्रथम आफूले अरूप्रति सम्मानजनक व्यवहार गर्नुपर्छ । शिष्ट र सभ्य व्यवहार नै सार्थक जीवनको महत्वपूर्ण आधार हो । त्यसै सार्थक एवम् सफल जीवनको अपेक्षा गर्ने जोसुकैले सबैसँग उपयुक्त सन्तुलित मानवीय एवम् मैत्रीपूर्ण व्यवहार (Friendly Behaviour) गर्नु अपरिहार्य हुन्छ ।
३. विधि विधान एवम् प्रथा–परम्पराको पूर्ण परिपालना ( C- Compliance)
समाजमा मानव व्यवहारलाई नियमन र निर्देशित गर्ने आधार नै कानुन हो । मुलुकको कानुनको पूर्ण परिपालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुन्छ । प्रत्येक परिवार, समाज, संगठन र मुलुकमा विविध मूल्य, मान्यता, कार्यविधि, प्रथा, परम्परा, कानुन तथा समझदारीको व्यवस्था गरिएको हुन्छ । जसले विधि विधान एवम् प्रथा–परम्परा तथा मूल्य–मान्यताको उचित मर्यादा गर्छ, उसको समाजमा उच्च मर्यादा रहन्छ । जसले विधिको पालना गर्दैन, ऊ परिवार, समाज र संगठनबाट दण्डित हुन्छ । प्रथा–परम्परा एवम् विधिको अपहेलना गर्ने आफैं अपहेलित हुन पुग्छ । विविध परिपालना अग्रगामी कुरा हो भने त्यसको परिपालना नगरेमा हुने दन्ड सजाय प्रतिगामी कुरा हो । परिपालनाको लागत न्यून र प्रतिफल भने उच्च हुन्छ । परिपालना गर्नेले कहिल्यै पछुताउनु पर्दैन । त्यसैले सार्थक एवम् सफल जीवनका लागि मुलुकको संविधान, ऐन, नियम, कार्यविधि, मूल्य, मान्यता, प्रथा, परम्परा, सम्झौता, समझदारीको अक्षरशः तथा पूर्ण परिपालना गर्नु जरुरी हुन्छ ।
४. गतिशीलता ( D- Dynamism)
समय गतिशील छ । समयअनुसार पर्यावरण (Ecology) मा परिवर्तन भइरहेको हुन्छ । मानव जीवन पनि एक गतिशील चक्र (Cycle) हो । गतिशीलता भनेकै उन्नति प्रगतिको द्योतक हो । व्यक्तिले उसको जीवनको विभिन्न अवस्थामा र पक्षमा पृथक भूमिका निर्वाह गर्नुपर्छ । व्यक्ति उही हुन्छ तर समय, परिस्थिति र स्थान विशेष उसको भूमिका भने पृथक हुन्छ । जहाँ जे–जस्तो भूमिका निर्वाह गर्नुपर्ने हो, सो भूमिका प्रभावकारी रूपमा वहन गर्नुपर्छ । मानिसको प्रत्येक क्षण कर्तव्यले खाली छैन । समय सञ्चित गर्न सकिँदैन, यो नाशवान् तत्व हो, यो अविरल रूपमा व्यतीत भइरहन्छ । भविष्य अनिश्चित छ । वर्तमानमात्र निश्चित छ । वर्तमान समयको उचित उपयोग गर्ने र भविष्यको समय अग्रगामी हिसाबले योजनाबद्ध रूपमा उपयोग गर्न तत्पर रहने व्यक्तिले नै आफ्नो जीवनमा सफलता हासिल गर्छ ।
समय, परिस्थिति, समाज, देश एवम् परिवेशअनुरूप व्यक्तिले आफूलाई रूपान्तरण गर्न सक्नुपर्छ । मानिसले पर्यावरण परिवर्तन गर्न सक्दैन, पर्यावरण अनुकूल आफूलाई बदल्नेमात्र हो । अस्तित्वका लागि संघर्ष (Struggle for Existence) गर्नुपर्ने र संघर्षमा जित्ने तथा पर्यावरणबमोजिम अनुकूल हुने नै टिक्ने (Survival of the Fittest) कुरा शाश्वत सत्य हो । त्यसैले प्रत्येक व्यक्तिले सफल एवम् सार्थक जीवनका लागि समयअनुसार चल्नुपर्छ । आफूलाई परिवर्तन गर्नुपर्छ । भौगोलिक अवस्था, देश, काल, परिस्थितिअनुरूप आफूलाई रूपान्तरण गर्नुपर्छ र सोहीअनुरूपको व्यवहार अवलम्बन गर्नुपर्छ । समयले रोजेको र खोजेको ज्ञान, सीप हासिल गर्ने र त्यहीबमोजिमको आचरण, व्यवहार तथा संस्कार अवलम्बन गर्नुपर्छ । अप्राकृत बनेर कोही पनि टिक्दैन, सफल हुँदैन । प्राकृत बन्नु जरुरी छ । संसार बदल्नेले पहिले आफैं बदलिनुपर्छ । समग्र समृद्धिका लागि पहिले स्वसमृद्धि जरुरी छ । समय परिस्थितिको उपयुक्त गतिमै प्रगति सम्भव छ ।
५. सदाचार एवम् नैतिकता ( E- Ethics)
मानव व्यवहारको सबैभन्दा महत्वपूर्ण सार नै सदाचार एवम् नैतिकता हो । यो सार्थक जीवनका लागि आवश्यक पर्ने विभिन्न गुणको समग्र आधार हो । साँचो बोल्नु, संयमित हुनु, सही र गलत छुट्याई निर्णय गर्नु, विधिविधानको परिपालना गर्नु, चोरी नगर्नु, हिंसा नगर्नु तथा कुनै अपराध एवम् कसुर नगर्नु र मानव कल्याणका लागि कार्य गर्नु नै सदाचार एवम् नैतिकता हो । जसले सदाचार अवलम्बन गर्छ, त्यसले जीवनमा कहिल्यै पनि अपहेलित हुनुपर्दैन र सम्मानपूर्ण व्यवहार प्राप्त हुन्छ । त्यसैले सार्थक एवम् सफल जीवनको अपेक्षा गर्ने जोसुकैले सदाचार पद्धति अवलम्बन गर्नु वाञ्छनीय हुन्छ ।
मानव जीवनको सार्थकताका लागि प्रत्येकले A to Z गुण अवलम्बन गर्नु उपयुक्त र अपरिहार्य हुने विश्वास गरिएको छ । त्यसमा पनि मूल रूपमा अग्र पाँच गुण A to E त सबैभन्दा महत्वपूर्ण गुण हुन् । के राजनीतिज्ञ, के समाजसेवी, के पेशाविद्, के सर्वसाधारण सबैले न्यूनतम रूपमा उक्त पाँच गुणमात्र भए पनि अवलम्बन गर्न सकेमा आ–आफ्नो कर्म क्षेत्रमा सफलता हासिल गर्न कुनै कठिन हुँदैन । सकारात्मक सोच, मैत्रीपूर्ण व्यवहार, कानुनको परिपालना, व्यावहारिक गतिशीलता र सदाचारलाई सफल व्यक्तित्व निर्माणका पूर्वाधार मानिन्छन् । कम्तीमा पनि यी पाँच गुण अवलम्बन गरी समृद्ध, शान्त र सभ्य जीवन जिउन प्रेरित होऔं । सफल एवम् सार्थक जीवनका लागि राम्रो सोचौं, नराम्रो नसोचौं । राम्रो बोलौं, नराम्रो नबोलौं, राम्रो सुनौं, नराम्रो नसुनौं । राम्रो देखौं, नराम्रो नदेखौं । राम्रो गरौं नराम्रो नगरौं ।
प्रतिक्रिया