शुक्रबार, १४ वैशाख २०८१

‘आगोले डढायो अनुदानको पैसा’

समयपोष्ट २०७३ मंसिर १ गते २:४६

डढेको पैसाको पोका बोकेर ७४ वर्षीय भीमबहादुर कार्की सदरमुकाम चरिकोटमा भौंतारिरहेका छन् । भूकम्पपीडित भएबापत घर बनाउन आएको अनुदान रकम आगलागीमा परेर डढेपछि उनी हतास मनस्थितीमा सदरमुकाम पुगेका हुन् ।

Advertisement

डढेको पैसा सटहीका लागि साहारा खोज्दै आएका उनले सबै बैंक चहारिसके । तर कुनैपनि बैंकले ती नोट साट्न नमानेको गुनासो गरे । ‘घर बनाउन भनेर ज्यामी काम गरेर जोगाएको ६७ हजार र सरकारले दिएको ५० हजार स्वाहा भयो,’ उनले भने ।

लापिलाङ ९ का भीमबहादुरको कात्तिक १९ गते दिउँसो कटेरो जल्दा पैसा र अन्य सम्पत्ति जलेको हो । उनले कटेरोमा रहेको ट्याङभित्र ज्याकेटको खल्तीमा ६७ हजार राखेका थिए । सरकारले घर बनाउन दिएको ५० हजार बैंकबाट झिकेर ट्याङभित्रै ज्वारिकोटको गोजीमा हालेका थिए । पैसा र भएको सम्पत्ति सबै स्वाहा भएपछि हारगुहार गर्दा जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार र कागजको निस्सा पाए । रेडक्रसले पाल दियो । तर, उनले डढेको पैसा सटही र क्षतीपूर्तिको उचित सुविधा भने अझै नपाएको बताए । पत्नी र छोराछोरी वियोगको घटनाले विछिप्त भीमबहादुरले ६७ हजार रुपैयाँ घर बनाउँन भनेरै जोहो गरेका थिए । भूकम्प गएपछि घर बनाउन दिनरात अर्काको घरमा ज्यामी गर्थे र खाइनखाइ पैसा जम्मा पार्थे । आउने सामाजिक सुरक्षा भत्ता पनि भोक मारेर जोगाएको बताए । ‘भोक र तिर्खा सहेर बचाँएको पैसा सबै गयो हजुर,’ उनले भने ।

भीमबहादुरका अनुसार आगोले पग्लने ज्याकेट भएकाले ६७ हजार रुपैयाँको खरानी पनि पाइएन् । कपडाको ज्वारिकोटमा राखिएकाले ५० हजार रुपैयाँको चाहीँ केही निस्सा देखिन्छ । छिमेकीले नोटको एकापट्टि कागज टाँसेर बनाइदिएका पैसा सटहीका लागि उनले चिनजानका मानिस पठाए तर नसाटिएपछि आफै चरिकोट धाएका हुन् ।

आजभन्दा ३४ बर्षअघि श्रीमती गुमाएका भीमबहादुरले त्यसपछि नौ र छ बर्षिया छोरी र दुई बर्षिय छोरा गुमाउनु पर्‍यो । उनको भनाई मा दुई छोरी दादुराले मरे । आमा र छोरा भने दिसा पिसाबबाट रगत जाने व्यथाले गए । ‘उपचार गर्दा केही लागेन,’ उनले पुरानो दुर्दशा दर्शाउदा आखाँबाट आशु झर्न लागेको देखिन्थ्यो ।कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री