शुक्रबार, १६ चैत २०८०

ट्रम्पको आगामी आर्थिक नीति ‘पर्ख र हेर’को अवस्थामा

समयपोष्ट २०७३ कार्तिक २६ गते २:१३

 विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकाले अन्य देशका लागि लिने आर्थिक नीति र सहयोगमा कस्तो फेरबदल आउला ? भन्ने जिज्ञासा अहिले चौतर्फी छ । नेपालमा सोबारे पर्ने प्रभावमा विभिन्न अड्कल काटिन थालेको भए पनि खासै असर नपर्ने विश्लेषण परराष्ट्रविज्ञहरूको छ ।

परराष्ट्रविद् तथा पूर्व अमेरिकी राजदूत डा. सुरेश चालिसेले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिने आर्थिक नीतिमै सहयोग बढ्ने या कटौती हुनेमा भर पर्ने बताए । ‘नेपाल र अमेरिकाबीचको प्रगाढ सम्बन्धका कारण आर्थिक सहयोगमा धेरै फेरबदल हुने सम्भावना छैन तर नवनिर्वाचित राष्ट्रपतिको आगामी नीतिमा धेरै कुरा निर्भर हुन्छ,’ उनले भने ।

विश्वको आर्थिक बजार एकापसमा अन्तरनिर्भर रहेकाले अमेरिकाले लिने नयाँ नीतिले फेरबदल आउनसक्ने सम्भावना रहने बताउँदै उनले भने, ‘राष्ट्रपति ट्रम्पले नयाँ नीति लिनुहुन्छ या पुरानैलाई निरन्तरता दिनुहुन्छ, त्यसलाई अहिले ‘पर्ख र हेर’को हिसाबले मात्र विश्लेषण गर्न सकिन्छ ।’

अर्का परराष्ट्रविज्ञ मधुरमण आचार्यले राष्ट्रपति ट्रम्पको आगामी कार्यनीति र योजनालाई नहेरी मूल्याङ्कन गर्नु अनुमानमात्र हुने भन्दै उनले नेपाललाई दिइने आर्थिक सहयोगमा धेरै उतारचढाव आउने सम्भावना नरहेको बताए । ‘बाह्य देशबारे ट्रम्पले लिने आर्थिक नीतिमै उतारचढाव आउने या यथावतै रहने टुङ्गो हुन्छ, अहिले नै यसै हुन्छ भन्नु हतार हुन्छ’, आचार्यले भने ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुनुपूर्व चुनावी प्रचारमा उनले दिएको अभिव्यक्तिले विश्वबजारमा हलचल आएको थियो । विदेशी सहयोग र वैदेशिक रोजगारीमा कटौती हुने खालका अभिव्यक्ति उनको थियो । चुनावी प्रचारअनुसार ट्रम्पले कार्यनीति बनाए रोजगारीमा ठूलो कटौती हुनसक्ने अनुमान विज्ञहरूको छ । गोरखापत्र दैनिकबाट।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री