शनिबार, ८ वैशाख २०८१

निःशुल्क भयो मृगौलाको डायलाईसिस

समयपोष्ट २०७३ कार्तिक २२ गते १२:१२

मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने सम्पुर्ण डायलाईसिस निःशुल्क भएको छ । यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अव देखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो ।
    स्वास्थ्य मन्त्री गगन कुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलाईसिस निःशुल्क गर्न सोमबार संवन्धीत अस्पतालहरुलाई परिपत्र गरेको छ । 
    विरामीले मृगौला प्रत्यारोपण नगर्दा सम्म हप्तामा तीन पटक सम्म डायलाईसिस गर्नु पर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । डायलाईसिस गर्दा हरेक पटक २५ सय रुपैया लाग्ने गरेको छ । हप्ताको तीन पटक र प्रत्येक पटक २५ सय रुपैयाका दरले डायलाईसिसका लागि मात्रै हरेक हप्ता कम्तीमा ७५ सय रुपैया लाग्ने गर्दछ । यही सेवालाई नै मन्त्रालयले निःशुल्क गरेको हो । 
    प्रधानमन्त्रीको घोषणा, सरकारको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र स्वास्थ्य मन्त्रालयको निर्णय समेतबाट संपूर्ण डायलाईसिस निःशुल्क हुन लागेको हो । 
    मन्त्रालयले दिएको निर्देशनमा “निःशुल्क उपचार गराउने व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्णयानुसार अनुरोध छ” भनिएको छ । 
    नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टर सहित ३२ अस्पतालहरुमा निःशुल्क लाडलाईसिसको व्यवस्था रहेको छ । यी मध्ये चार ओटा अंचल अस्पताल रहेका छन् भने वाँकी अंचल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलाईसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडी बढाई सकेको छ । 
    स्वास्थ्य मन्त्री थापाले पदवहाली गर्ने बेलामा ६ महिना भित्रमा सवै अंचल अस्पतालहरुमा निःशुल्क डायलाईसिसको व्यवस्था गर्ने घोषणा गरेका थिए । 
    प्रत्येक अंचल अस्पतालहरुलाई २ ओटा डायलाईसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइ सकेको छ । ६ महिना भित्रमा सवै अंचल अस्पतालहरुमा सेवा सुरु भईसक्ने मन्त्रालयको दावी छ । 
     

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री