आफैँलाई भोट दिन नपाउने उम्मेदवारमा शीर्ष नेता पनि

आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवार आफैँले आफैँलाई मत दिने अवस्थामा हुनुहुन्न । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरू आफूलाई मतदान गर्नबाट वञ्चित हुनुहुने भएको हो । त्यसमा कतिपय शीर्ष नेता पनि हुनुहुन्छ । यसरी मतदान गर्न नपाउनेमा शीर्ष नेतादेखि अन्य नेतासमेत गरेर ८२ जना जति रहेको निर्वाचन कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

Advertisement

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मतदान गर्न पाउनु हुनेछैन । मतदाता नामावलीमा उहाँ र उहाँकी पत्नी राधिका शाक्यको नाम सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि केन्द्रमा रहेको छ । उहाँ झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहनुभएको छ । अर्का पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफूले आफैँलाई मतदान गर्न पाउनुहुनेछैन । चितवन ३ का मतदाता रहनुभएका उहाँ गोरखा २ बाट उम्मेदार बनेपछि आफैँले आपूmलाई मत हाल्ने अधिकारबाट वञ्चित हुनुभएको हो ।

पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)की नेत्री ओनसरी घर्तीको नाम रोल्पामा रहेको छ भने उहाँ काठमाडौँ २ बाट उम्मेदवार बनेका कारण आफूलाई मतदान गर्न पाउनुहुने छैन । नेपाली कांग्रेसका नेतहरूमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा. शशाङ्क कोइराला, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कृष्ण सिटौलाले पनि आफू मतदाता रहेको स्थानभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण आफूलाई मतदान गर्न पाउनुहुने छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न डडेल्धुरा पुगेका सागर ढकाल पनि आफूले आफैँलाई मतदान गर्न पाउनुहुने छैन । उहाँ गुल्मीबाट त्यहाँ जानुभएको हो । त्यस्तै काठमाडौँ ६ मा मतदाता रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चितवन २ बाट उम्मेदवार बनेपछि आफैँले आफूलाई मतदान गर्नबाट

वञ्चित हुनुहुन्छ ।  बागलुङ १ बाट उम्मेदवार बनेका चित्रबहादुर केसी, सप्तरी २ बाट उम्मेदवार बनेका उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर पनि त्यस्तै मतदातामा पर्नुभएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री