शुक्रबार, १४ वैशाख २०८१

भूकम्पपीडितको यो जाडो पनि टहरामै

समयपोष्ट २०७३ कार्तिक २२ गते १:४१

भूकम्पपीडितले यसपालिको जाडो पनि टहरामै बिताउनुपर्ने भएको छ । समयमै आवास निर्माणको अनुदान नपाउँदा उनीहरूले यसअघि दुई बर्खा र एक सिजनको जाडो पनि टहरो र त्रिपालमुनि नै बिताएका थिए ।

Advertisement

सरकारले भूकम्पपीडितको आवास निर्माण गर्न पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ वितरण गर्दै आएको छ । तर, राहत पाएका अधिकांशले अझै आवास निर्माण सुरु गरेका छैनन् । सहरी विकास मन्त्रालय स्रोतका अनुसार केही भूकम्पपीडितले आफूखुसी घर बनाएका छन् । मापदण्डअनुसारका घर भने निकै कम बनेको मन्त्रालयले जनाएको छ ।

तिहारअघिदेखि गोरखामा करिब दुई सय परिवारले सरकारी इन्जिनियरको सुझाबअनुसारका घर बनाउन थालेका छन् । गोरखामा मात्रै करिब ६० हजार पीडित छन् । अन्य जिल्लाबाट रिपोर्ट आइनसकेको सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका एक कर्मचारीले बताए ।

सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये काठमाडौं उपत्यकाबाहिरका ११ जिल्लाका सबै भूकम्पपीडित परिवारको बैंक खातामा अझै रकम पठाएको छैन । पाँच लाख ३३ हजार भूकम्पपीडितमध्ये चार लाख ८६ हजार परिवारसँग मात्र अनुदान सम्झौता भएको छ । यसमध्ये करिब चार लाख ३० हजार पीडितको बैंक खातामा रकम जम्मा भएको छ । पदबहाली गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनभित्र सबै पीडितको खातामा पहिलो किस्ता रकम उपलब्ध गराउन निर्देशन दिएका थिए । प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको तीन महिना बितिसकेको छ ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री