शनिबार, ५ जेठ २०८१

८६ मेगावाटको सोलुखोला जलविद्युत आयोजनाको संरचना निर्माण सम्पन्न, एक महिनापछि व्यवसायिक उत्पादन

समयपोष्ट २०७९ कार्तिक १६ गते ११:१८

Advertisement

स्वदेशी निजी क्षेत्रको सबैभन्दा ठूलो आयोजना सोलुखोला जलविद्युत आयोजनाको संरचना निर्माण सम्पन्न भएको छ ।

८६ मेगावाटको उक्त आयोजनाको सिभिल संरचना निर्माणका काम सीई कन्स्ट्रक्सनले गरेको हो। हाइड्रो मेकानिकल भारतीय कम्पनी ह्वाइट हाइड्रो इलेक्ट्रोमेकानिक, हाइड्रो कन्सल्ट इन्जिनियरिङ र जर्मन कम्पनी फिसनर जीएमपीएच इन्जिनियरिङले गरेका छन्।

आयोजनाको प्रसारणलाइन निर्माणको काम गौरा कन्स्ट्रक्सनले पाएको छ।

यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो। जसका संरचनाहरु सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ दूधकोसी गाउँपालिकामा पर्छ। आयोजनाको हेडवर्क्स सोलुदूधकुण्डको गैरीगाउँमा निर्माण भएको छ। सतही प्रकृतिको विद्युतगृह थुलुङ दूधकोसीमा पर्छ। आयोजनाको ग्रस हेड ६१३.२० मिटर र नेट हेड ५९८.०९ मिटर छ। आयोजना उत्पादित विद्युत १२ किमिको १३२ केभी प्रसारणलाइनमार्फत विद्युत प्राधिकरणको लमाने सवस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ।

Advertisement

सुरुमा ११ अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको आयोजनाको लागत करिब १४ अर्ब रुपैयाँ पुगेको छ। ठेक्का व्यवस्थापन, कोरोना महामारी, मूल्यवृद्धिलगायत विभिन्न कारणले लागत बढेको आयोजना व्यवस्थापनले जनाएको छ।

उक्त आयोजनमा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा थप १० बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटीबाट लगानी जुटाइएको छ।

परीक्षणको तयारी

आयोजनाको संरचना निर्माण सम्पन्न भएसंगै अब परीक्षण गर्ने तयारी गरिएको छ। अबको दश/बाह्र दिनभित्र परीक्षण सुरु गरिने साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले जानकारी दिए । त्यसको एक महिनापछि व्यवसायिक उत्पादन थालिने पाठकले बताए । उक्त आयोजनाबाट वार्षिक ५२०.२० गिगावाट घण्टा (सुक्खायाममा १००.२७ गिगावाट घण्टा र बर्खायाममा ४१९.९३ गिगावाट घण्टा) विद्युत उत्पादन हुनेछ।

कम्पनीले गत चैतमा संरचना निर्माण, परीक्षण सकेर जेठबाट उत्पादनको लक्ष्य लिएको थियो। कमजोर भूगोल लगायत विभिन्न कारण आयोजना करिब ६ महिना धकेलिको हो ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार जारी पुँजीको ७० प्रतिशत संस्थापक सेयर, १० प्रतिशत सोलुखुम्बु जिल्लाका बासिन्दा, २० प्रतिशत सर्वसाधारण, कम्पनीका कर्मचारी र अन्य सेयरधनीहरुका लागि छुट्याएर बाँडफाँट गरिएको छ। कम्पनीमा करिब ८ हजार जना संस्थापक लगानीकर्ता छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री