शनिबार, ५ जेठ २०८१

अव्यवस्थित तार तथा उपकरणहरुका कारण आगलागीको जोखिम बढेपछि प्राधिकरणले तोक्यो मापदण्ड, ४५ दिनभित्र कार्यान्वयन गर्न अल्टिमेटम

समयपोष्ट २०७९ कार्तिक १५ गते १४:०५

Advertisement

नेपाल विद्युत प्राधिकरणले दूरसञ्चार, केवल टिभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको छ ।

अव्यवस्थित रूपमा पोलमा झुण्ड्याइएका तार तथा उपकरणहरुका कारण दैनिक आगलागी हुन थालेपछि मापदण्ड तोकेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ। यससंगै अब दूरसंचार, केबल टीभी तथा इन्टरनेट सेवा प्रदायकहरुले न्युनतम भर्टिकल क्लियरेन्स कायम नगरी ड्रप केबल/सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन पाउने छैनन् ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबलले शहरलाई कुरुप बनाएको भन्दै प्राधिकरणले आगलागीलगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ ।

तोकिएको समयमा व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुनसक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने
प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

Advertisement

प्राधिकरणले अप्टिकल फाइबर/केबल र विद्युत लाइन तथा भू-सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमश : ८० र ३० सेन्टिमिटर हुनु पर्नेछ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्नेछ । अन्य ४०० भोल्टका उपकरणरूसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्नेछ । अप्टिकल फाइबर/केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । न्यूनतम दूरी कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।

राउटर, अप्टिकल फाइबर वितरण बक्सजस्ता उपकरणहरू पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्नेछ ।

प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउनु पर्नेछ । पोलहरूमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तार तान्दासमेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकहरूले निजहरूको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नु पर्नेछ ।

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्ने मापदण्ड तोकिएको छ । तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केबलहरू हटाउनु पर्नेछ ।

तोकिएका मापदण्ड तार तथा उपकरणहरुलाई सेवा प्रदायहरुले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउन पनि प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री