मंगलबार, ४ वैशाख २०८१

नर्सका समस्या समाधान गर्न कार्यदल बनाउने तयारी

समयपोष्ट २०७३ कार्तिक २० गते १०:२९

नर्सले भोग्नुपरेका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नर्सिङ्ग समस्या समाधान गर्न कार्यदल गठन हुन लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 
स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले लामो समयदेखि नर्सले विभिन्न समस्या झेल्दै आएकाले नर्सको समस्या समाधानका लागि कार्यदल गठन गरी समस्या समाधान गर्न लागिएको जानकारी दिए । पौडेलले कार्यदल गठनको सम्पूर्ण तयारी पूरा भइसकेकाले छिट्टै गठन हुनसक्ने बताए । स्वास्थ्य मन्त्री थापाको पहलमा कार्यदल गठन हुन लागेको जानकारी दिंदै उनले नर्सका समस्यालाई गम्भीर रुपमा लिएर समाधानतर्फ लागेको बताए । ‘सीटीईभीटी, शिक्षा मन्त्रालय, नेपाल नर्सिङ्ग काउन्सिल लगायतका निकायसँग छलफल भइरहेको छ, पौडेलले भने“अब नर्सिङ्ग अध्ययन गराउने विश्वविद्यालय, विभिन्न प्रतिष्ठान, नर्सिङ्ग एशोसिएसन लगायतका निकायसंग छलफल गरी कार्यदल गठन गरिनेछ ।’
tara-pokharel स्वास्थ्य मन्त्रालयले बेरोजगारी, श्रम शोषण, भोलेन्टिएर, विभेद, तलब नपाउने, बिरामी र नर्सको अनुपात लगायतका विषयमा केन्द्रीत रहेर काम गर्ने गरी कार्यदल गठन गर्न लागेको हो । नेपाल नर्सिङ्ग संघले विगतदेखि नै नर्सका समस्या समाधान गर्न माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएको थियो । संघले मन्त्रालयमा अधिकार सहितको नर्सिङ्ग महाशाखा, विभाग अन्तर्गतका महाशाखामध्ये कम्तीमा दुईवटा विभागको प्रमुख नर्सिङ्ग क्षेत्रबाट हुनुपर्ने, बिरामी र नर्सको अनुपात कायम गर्नुपर्ने, नर्सलाई स्वयंसेवाको रुपमा लगाउन नपाइने, उच्चस्तरीय कार्यदल गठन गर्नुपर्ने लगायतका माग अघि सारेको थियो । 
नेपाल नर्सिङ्ग संघकी अध्यक्ष तारा पोखरेलले आफूहरुका माग सहज र साधारण भएको भन्दै अब बन्ने कार्यदलले नर्सका समस्या समाधान हुने विश्वास व्यक्त गरिन । उनले नेपालमा नर्स र विरामीबीचको अनुपात नमिलेकै कारण पटक–पटक नर्सको व्यवहारलाई विवादमा ल्याउने काम भइरहेको भन्दै बिरामी र नर्सको अनुपात कायम गरेमात्र पनि प्रमुख समस्या समाधान हुने बताइन ।

Advertisement

नेपालमा निजी अस्पतालहरुले भोलेन्टियर राख्ने नाममा नर्सहरुमाथि ठूलो श्रम शोषण भइरहेको जानकारी दिँदै अध्यक्ष पोखरेलले भोलिन्टिएर, श्रम शोषण, नर्स र बिरामी बीचको अनुपात मिले मात्र पनि नर्सका समस्या समाधान हुने बताइन । “लाखौ खर्च गरेर नर्स पढेको हुन्छ, अध्यक्ष पोखरेल भन्छिन,“अस्पतालहरुले दुईचार हजार दिएर नर्सको श्रमशोषण गरिरहेकाछन् ।” laxmi-rai-final
नेपाल नर्सिङ्ग काउन्सिलकी रजिष्टार लक्ष्मी राईले नर्सका समस्या समाधान गर्न स्वास्थ्य मन्त्री गगन थापासंग छलफल भइसकेको जानकारी दिइन । उनले नेपालमा नर्सले धेरै समस्या भोगिरहनुपरेको भन्दै कार्यदल गठन पश्चात ती समस्या समाधान हुनसक्ने बताइन । 

सल्लाहकार पौडेलले विशेषज्ञ नर्स उत्पादनका लागि सरकारले छात्रबृत्तिको व्यवस्था गर्ने, भोलेन्टियर प्रथा बन्द गर्ने, काम अनुसारको पारिश्रमिकका लागि पहल गर्ने लगायतका काम सुरु भएको बताए । मापदण्ड अनुसार जनशक्तिको व्यवस्था गर्न सबै अस्पताललाई आग्रह गर्ने जानकारी दिदै उनले तोकिएको मापदण्ड अनुसार नर्सिङ्ग जनशक्ति भर्ना गरे बेरोजगारीको समस्या हट्नसक्ने बताए । उनले नर्सहरुको सुरक्षा, गुणस्तरीय शिक्षा, पारिश्रमिक र सेवासुबिधा लगायतका विषयमा कार्यदल बन्न सक्ने जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री