शनिबार, १८ मंसिर २०७८

आत्मीयता, सद्भाव र सुखको अनुष्ठान : छठ पर्व

समयपोष्ट २०७३ कार्तिक २० गते ९:१५

himanchu-chaudhary हिमांशु चौधरी
शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्व निकै कठिन पर्व हो । सामाजिक संस्कृतिका अभिन्न अंग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
आस्थाको महापर्वका रूपमा छठ पर्व वर्षमा दुईपटक मनाउने गरिन्छ । शरद ऋतुको कार्तिक षष्टिका दिन र अर्को वसन्त लागेको चैत महिनाको पष्टिका दिन मनाइने पर्वमा श्रद्धालुमा अन्य पर्वभन्दा भिन्नै उल्लास र आस्था हुन्छ । सूर्यको आराधनाबाट सुख समृद्धि र सन्तान प्राप्ति एवम् चर्म रोग निको हुने जनविश्वास छ । यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् ।
ज्योतिषशास्त्रका आधारमा छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशी समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारीसमेत मानिएको छ ।
नाम र भेद 
छठ शब्द षष्टि शब्दको तद्भव रूप हो । षष्टिका दिन षष्टिका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्टि, छठी हुन गएको हो तर अपभ्रंशमा षष्टि, छठीबाट छठ हुन गएको बुझिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्टि व्रत ,सूर्य षष्टि पर्व, रविषष्टि व्रत र छठी पर्व उल्लेख छ ।
छठ र सूर्य पूजामा भिन्नता 
काँचहि बाँसके टोकरिया हो दीनानाथ
टोकरी लचकत जाय
बाटमे पुछए जे बटोहिया
टोकरी केकर जाय ?
आन्हर होयबे रे बटोहिया
अरघक टोकरी छठि मायके जाय ।

छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दीनानाथ र छठीमाइलाई सम्बोधन गरिएको छ । यसको अभिप्राय हो– दीनानाथ अर्थात् सूर्यदेव, छठीमाई अर्थात् षष्टिका देवी दुवैको छठ पर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य– षष्टि रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्टिका देवीको पूजा पनि हुन्छ । षष्टिका देवीको पूजा गौण रूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशंकर एक–अर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्टि पूजा पनि हुन्छ ।
सूर्यको पूजा गर्दा षष्टिका देवी अर्थात् छठमाताको र छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुने गरेको मान्यता पाइन्छ । षष्टिका देवीलाई अह्लादिका शक्तिका रूपमा गौण पूजा हुने गरेको विश्वास रहेको छ । अस्ताउँदो सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ भने उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्ने तर्कसमेत पाइन्छ ।

Advertisement


chat-3

को हुन् छठमाता ?
षष्टिका देवीलाई कार्तिकेयको पत्नी मानिन्छ र षष्टिका देवीलाई प्रकृतिको छैटौं अंश र देवसेना पनि भनिएको छ । पौराणिक ग्रन्थहरूमा छ अंश षष्टि र एक अंश सूर्यलाई मानिएकाले षष्टिलाई छठमाता र सप्तमीलाई सूर्य मानिन्छ । षष्टि र सूर्य गरी सात अंश अंकको अधिक महत्व रहेको छ ।
साताको सात दिन, सूर्यदेवको रथमा सात घोडा, सात समुद्र, सात अजुवा, संगीतको सात सुर आदि कुरा सूर्यसँग सम्बन्धित रहेको पुष्टि हुन्छ ।
यस पर्वमा व्रतालुको आस्था र कठोरतालाई लोकगीतमार्फत यसरी व्यक्त गर्ने गरिएको छ ः
केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय
मारबौ रे सुगबा धनुषसँ सुगा गिरे मुरूझाय
सुगनी जे कानति वियोगसँ दीनानाथ होयब सहाय……….।

अर्थात् छठपूजाका लागि राखिएको केरालाई जुठो नपार, नत्र सुगा धनुषवाणले हान्छु र तिमी मर्छौ भने तिम्रो सुगनी (दुलही) रून्छे 
हे दीनानाथ सोको पाप मलाई नलागोस् भनी सूर्यदेवलाई कामना गरिएको गीतको भावले पनि यस पर्वमा चढाइने कुनै पनि कुरा स्वच्छ र पवित्र हुनुपर्छ भन्नेतर्फ इंगित गर्छ ।
पर्वको आरम्भ 
सूर्य पुराणमा वर्णित कथाअनुसार कार्तिक शुक्ल षष्टिका दिन हुने छठ पर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसुयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ । त्यस्तै द्वापर युगको महाभारतकालमा पाण्डवहरू अज्ञात वासमा हुँदा द्रौपदीले आफूहरूको अज्ञात वास सफल होस् भनी कामनासाथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ ।
ऋग्वेदमा “अदित्यो वै तेज ओजो बलं यशश्चक्षः श्रोय आत्मामन” उल्लेख छ । जसको अभिप्राय आदित्यमण्डलको अन्तःस्थित सूर्यदेव अधिक प्रेरक, अन्तर्यामी परमात्मा स्वरूप छ तथा सूर्य नै बल, यश, चक्षु स्रोत, आत्मा र मन हो ।
श्रापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर कञ्चन शरीर पुुनः प्राप्त गर्नुभएकाले नै त्यहींदेखि सूर्यको आराधना सुरू भएको मत पनि पाइन्छ ।
व्रत विधि 
यस पर्वको विधि चतुर्थीदेखि नै सुरू हुन्छ । चतुर्थीका दिन व्रतालुले शुद्ध शाकाहारी भोजन गर्ने गर्छन्, जसलाई अरबा अरबाइन र नहा खाय अर्थात् नुहाएर खानु भनिन्छ । पञ्चमीका दिन गोबरले घर–आँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्छन्, यसलाई खरना भनिन्छ ।
षष्टिका दिन गहुँको पीठो र चामलको पीठोबाट क्रमशः ठकुवा र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुअगावै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ । प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिसलगायतका विभिन्न वनस्पति पनि राखिन्छ ।
सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुपती, नाङ्लो, माटोको कुरबार सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाकिनारमा गई सबैथोक सजाएर राखिन्छ । व्रत बस्नेहरू कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन् । सप्तमीका दिन बिहान उषाकालमा व्रतालुले पुनः अघिल्लो दिनको क्रम दोहोर्याउँछन। सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यले गाईको दूध चढाउँछन् । “ओम सूर्यायै नमः, ओम भास्करयै नमः” को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ ।
छठ पर्वले जनव्रतको रूप लिइसकेको छ । जुनसुकै जाति र धर्मका आस्थावान्ले छठ पर्व मनाउन सकिने भएकाले आर्थिक अभाव रहेकाले भिक्षा मागेर पनि छठ पर्व मनाउने गरेको पाइन्छ ।
छठ पर्वको मूल सन्देश समन्वय, समावेशी र सादगीपन हो । यसमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गर्नु महत्वपूर्ण पक्ष हो । यसका साथै अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख–दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो ।


chat-12

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकैठाउँमा यस पर्वमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् । सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले उनीप्रति कृतज्ञताको अभिवृद्धि पनि यस पर्वले दिन्छ । आफू नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु छठ पर्वको थप मौलिकता हो, जो श्रमको सम्मानको परिचायक रहेको छ । यसमा श्रमको वैज्ञानिक रूप देखिन्छ । श्रमशक्तिले काम गर्न पाउन भन्ने कुरालाई समेत सूक्ष्म दृष्टिले विचार गरिएको पाइन्छ ।
छठ पर्वमा बाँसको काम गर्ने, माटोको काम गर्ने र कृषि उत्पादन गर्ने जस्ता श्रमलाई उपयोग गरिएको पाइन्छ । यो पर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठ पर्व मनाउन आफ्नो घर फर्कने गर्छन्, जसले पारिवारिक मेल र आत्मीयताको अभिवृद्धिको अवसरसमेत प्रदान गर्छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री