शनिबार, ८ वैशाख २०८१

मन्त्री गगनकुमार थापाको अध्यक्षतामा स्वास्थ्य क्षेत्रको सुधार तथा पुर्नसंरचनाका लागि उच्चस्तरिय समिति गठन 

समयपोष्ट २०७३ कार्तिक १९ गते ११:५४

स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाको अध्यक्षतामा बिहीबार गठन भएको १३ सदस्यीय समितिमा स्वास्थ्य, संघियता, पुर्नसंरचना, कानुन लगायतका विभिन्न विषयका विज्ञहरु सदस्य रहेका छन । 
समितिको सदस्यहरुमा पुर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र, मुटुरोग विषेशज्ञ डा भगवन कोईराला, स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशकद्धय डा लक्ष्मीराज पाठक र डा यशोवद्र्धन प्रधान, जनस्वास्थ्य विज्ञ डा रिता थापा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनका पुर्व उपकुलपति डा अर्जुन कार्की, बरिष्ठ सर्जन डा सरोज धिताल, आयुर्वेद विज्ञ डा चन्द्रराज सापकोटा, कर विज्ञ डा. रुप खड्का, कानुनविद् डा रमेश बडाल र पुर्नसंरचना विज्ञ त्रिलोचन पोखरेल रहेका छन । 
समितिको सदस्य सचिवको जिम्मेबारी मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख विषेशज्ञलाई दिइएको छ । प्रमुख विषेशज्ञका रुपमा हाल डा पदम बहादुर चन्द छन । 
समितिलाई स्वास्थ्य मन्त्रालय र अन्तर्गतका लागि उपयुक्त संरचनाको खाका तयार पार्ने, स्वास्थ्य नीति, योजनालाइ संघीय संरचना अनुरुपको बनाउन सुझाव, सल्लाह, सहयोग र समन्वय गर्ने कार्यक्षेत्र तोकिएको छ । 
त्यसैगरी विद्यमान स्वास्थ्य क्षेत्रका कानुनहरुलाइ समयानुकुल बनाउनका लागि सुझाव तथा मार्ग निर्देशन गर्ने जिम्मेबारी पनि समितिले पाएको छ । साथै समितिले स्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक देखिएका विषयबस्तुमा रुपान्तरण तथा परिवर्तनका लागि मार्ग निर्देश गर्ने भएको छ । 
मुलुकको समग्र पुर्नसंरचनाको प्रक्रिया चलिरहेका बेला स्वास्थ्य क्षेत्रको नीतिगत, संरचनागत र सेवा प्रवाहको प्रणालीमा सुधार गर्न समिति गठन गरिएको स्वास्थ्य मन्त्री थापाले बताए । उनले खाका बनाउदा संघियतालाई मुख्य आधार बनाईने पनि जानकारी दिए । 
“मैले स्वास्थ्य मन्त्रीका रुपमा पद बहाली गरेदेखि नै स्वास्थ्य क्षेत्रको समग्र पुर्नसंरचनालाई प्रथमिकतामा राखेको छु, नेपालको भोलीको स्वास्थ्य क्षेत्र कस्तो हुन्छ भन्ने कुरा त्यो खाकामा आउछ,” उनले भने । 
समितिले दुई महिना भित्रमा प्रतिवेदन तयार पर्ने कार्यतालिका बनाएको मन्त्री थापाले बताए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री